जलाशययुक्त आयोजना निर्माणलाई गति दिँदै प्राधिकरण

  भदौ १८, २०७८

काठमाडौं, भदौ १८ : नेपाल विद्युत प्राधिकरणले मुलुकको विद्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ ।

प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एकसाथ अगाडि बढाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

तीनवटै आयोजनाहरु अहिले बिस्तृत अध्ययनको अन्तिम चरणमा छन् । कार्यकारी निर्देशक घिसिङले तीनवटा जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङको कामलाई अन्तिम रुप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, सडक पहुँच, जग्गा अधिग्रहण, वित्तिय व्यवस्थापनका लागि स्वदेशी वित्तिय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगका छलफल लगायतलाई समानान्तर रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

‘दैनिक एवम् मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागि समेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा निर्माण अगाडि बढाउनु लागिएको हो’, घिसिङले भन्नुभयो । ‘एक वर्षभित्रमा निर्माणपूर्वका सम्पूर्ण कामहरु सकेर निर्माणमा लैजाने गरी तिब्रताकासाथ काम गरिरहेका छौं’ उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैक (एडीबी) को नेतृत्वमा दूधकोसीमा लगानीका लागि युरोपेली लगानी बैक (इआईबी), एसियाली पूर्वाधार लगानी बैक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले जानकारी दिनुभयो । ‘सरकारले कार्यान्वयमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत सर्वसाधारण नागरिकलाई समेत शेयर निस्कासन गरी रकम जोहो गर्ने छौं, यस आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ’, उहाँले भन्नुभयो । नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई पनि शेयर निष्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने छ ।

दूधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र वर्खामा क्रमशः एक अर्ब ३६ करोड र दुई अर्ब आठ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

ओखलढुंगा र सोलुखुम्बुतर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ । आयोजना निर्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताउनुभयो । ‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चार अङ्कको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचयकोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ’,उहाँले भन्नुभयो । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब एक अर्ब २० करोड अमेरिकी डलर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अङ्ग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।

वझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाको रुपमा अगाडि बढाइने सरकारको तयारी छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ । आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम भइरहेको छ । हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक एक अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणको लक्ष छ ।

तपाईको प्रतिक्रिया