स्थानीय तह र सीसीएमसीको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

  भदौ १६, २०७८

काठमाडौं, भदौं, १६ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ ।

वैठकले यसअघि प्रतिबन्ध गरिएको सामूहिक खेलहरु, रोधीघरहरु ,सिनेमा हलहरु सामूहिक भेलाहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

विद्यालयहरु भने स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिको समन्वयमा भौतिक रुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । बालबालिकाहरुले अझै पनि खोप प्राप्त नगरेको अवस्थामा भौतिक रुपमा विद्यालय सञ्चालनमा आफूहरुले जोड नदिएको पराजुलीले बताउनुभयो ।

बैकल्पिक तरीकाबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसक्ने अवस्था भएमात्र भौतिक रुपमा विद्यालयहरु सञ्चालन गर्न उहाँको आग्रह छ । जारी निषेधाज्ञाको अवधिमै कोरोना सङ्क्रमणको जोखिम बढेको खण्डमा अहिले सञ्चालनमा आएका कतिपय पक्षबीचमा रोक लगाउन सकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया