काठमाडौँ, भदौ १२ : कोभिड–१९ सङ्क्रमणका कारण नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनअनुसार गत आवमा विदेशी लगानीमा सामान्य मात्र वृद्धि भएको देखिएको छ ।
प्रतिवेदनअनुसार गत आवमा १९ अर्ब ९० करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । यो आव २०७६/७७ को तुलनामा केवल १.२ प्रतिशतले मात्र बढी हो । उक्त आवमा नेपालले १९ अर्ब ६७ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो ।
विश्व अर्थतन्त्र नै कोभिड–१९ का कारण आक्रान्त बनिरहेको अवस्थामा नेपाल भित्रने लगानी पनि बढ्न नसकेको हो । यद्यपि विषम परिस्थितिमा पनि नेपालले अन्य सामान्य वर्षहरूकै औसतमा विदेशी लगानी प्राप्त गरेको देखिन्छ । विदेशी लगानीको वृद्धिदर सामान्य रहे पनि लगानीबापतको प्रतिफल फिर्ता लैजाने (रिपाट्रिएसन) भने गत आवमा निकै बढेको देखिन्छ ।
गत आवमा मात्रै नेपालबाट करिब ४० करोड रुपियाँ सोही उद्देश्यका लागि बाहिरिएको छ । जब कि त्यसअघि करिब २० करोड रुपियाँ मात्र नाफा फिर्ता गएको थियो । वास्तविक विदेशी लगानी अपेक्षाअनुसार नबढे पनि नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर हुने क्रम भने बढिरहेकै देखिन्छ । उद्योग विभागका अनुसार गत आवमा मात्रै नेपालले एक ३२ अर्ब सात करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो ।
जसमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योगमा ५२ करोड, उर्जामा एक अर्ब ५४ करोड, सूचना प्रविधिमा आधारित उद्योगमा तीन अर्ब, उत्पादनमूलक उद्योगमा एक अर्ब आठ करोड रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यस्तै सेवा क्षेत्रमा पाँच अर्ब ९८ करोड र पर्यटनमा १८ अर्ब ३१ करोड रुपियाँ प्रतिबद्धता जाहेर भएको विभागको तथ्याङ्कले देखाउाछ । यो सबै लगानीबाट करिब छ हजार जनालाई रोजगारी प्राप्त हुने उल्लेख छ ।