पेट्रोलियम ढुवानी नियमित

  भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो ।

निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ । निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक-सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।

कोरोना महामारीमा हवाई यातायातमा नकारात्मक असर परी हवाई इन्धनको बिक्री न्यून रहेकाले हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करहरूको समस्या समाधान गर्न व्यवसायीसँग समन्वय गरी समाधानका उपाय अवलम्बन गरिने भएको छ । निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सहमति भएको र ढुवानी सुचारु भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया