काठमाडौँ, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्न लागेको नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित कार्यक्रमका निम्ति पुनः आवेदन मागेको छ । अपेक्षा गरिएअनुरूप आवेदक नआएपछि महासङ्घले यसका लागि फेरि आवेदन खुलाएको हो । आवेदक बढाउन महासङ्घले सातै प्रदेश च्याप्टरलाई आग्रह पनि गरेको छ ।
‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमका लागि गत वैशाख ४ देखि आवेदन माग गरिएको थियो । कोरोना महामारीका कारण धेरै नवप्रवर्तनकारी व्यवसायीलाई समेट्न नसकिएको भन्दै महासङ्घले पुनः म्याद थप गरेको हो । कार्यक्रम महासङ्घको स्टार्टअप एन्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो ।
यसअघि आवेदन दिइसकेकाले पुनः आवेदन दिनु नपर्ने महासङ्घले जनाएको छ । कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवाका लागि दिन सकिनेछ । उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढीभन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासङ्घले आफ्ना सातैवटा प्रदेश च्याप्टरलाई आग्रहसमेत गरेको छ ।
लगानीकर्ताको व्यावसायिक अभिरुचिसँग छनोट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्ने महासङ्घले जनाएको छ ।