‘खेलाडीको प्रदर्शनमा जित, आफूले भूल गरे हार’

  भदौ ०५, २०७८

काठमाडौं, भदौ ४ : नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले फिफाको विश्व वरीयतामा अझै सुधार गर्ने प्रमुख लक्ष्य राखेको बताउनुभएको छ । उहाँले प्रशिक्षकको जिम्मेवारीमा आएको चार महिनामा नेपाल फिफा वरीयतामा पाँच स्थान माथि उक्लिनु आफ्नो लागि सुखद रहेको प्रतिक्रिया दिनुभएको छ ।

नेपाल फुटबलको सर्बोच्च निकाय फिफाको पछिल्लो वरीयतामा तीन स्थानमाथि उक्लेको छ । हाल नेपाल १६८ औं स्थानमा छ । साफ च्याम्पियनशीपमा राम्रो गरेर फिफा वरीयतामा नेपाललाई अझै माथि उकाल्ने प्रयास हुने उहाँले बताउनुभयो । नेपालको राष्ट्रिय फुटबल टोलि हाल दक्षिण एशियाली फुटबल च्याम्पियनशीपको तयारीको क्रममा पोखरामा रहेको छ । नेपालले भदौ तेस्रो साता साफ च्याम्पियनशीपको तयारीको क्रममा घरेलु मैदानमा भारतको आयोजना गर्दैछ । नेपालले भारत बिरुद्ध दशरथ रङशालामा दुई मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

पोखरामा खेलाडी प्रशिक्षणको क्रममा प्रशिक्षक अलमुतैरीले एन्फासँगको कुराकानीमा साफ च्याम्पियनशीपमा राम्रो गर्ने लक्ष्यका साथ तयारी भइरहेको बताउनुभएको छ । नेपाल हालसम्म साफ च्याम्पियनशीपको उपाधि हात पार्न नसकेकोमा राम्रो गर्ने विश्वास गरेको उहाँले बताउनुभयो । “साफ च्याम्पियनशीपमा नेपालले राम्रो नगरे मेरो भूलले गर्दा हुनेछ तर राम्रो गरे खेलाडीको प्रदर्शनले हुनेछ,” बताउनु हुँदै उहाँले राम्रो नगरेको अवस्थाको अपजश आफूले लिने खुलाउनुभयो ।

साफ च्याम्पियनशीपको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स साफ च्याम्पियनशीपको दाबेदार राष्ट्र हो । सन् २०१८ मा सम्पन्न अघिल्लो संस्करणको उपाधि विजेता माल्दिभ्सकै आयोजनामा साफ च्याम्पियनशीप हुनुले समेत उसलाई दाबेदार मानिएको छ । ऊ हालसम्म दुई पटक उपाधि जितेको छ । पछिल्लो पटक फाइनलमा उसले भारतलाई २–१ ले हराएर उपाधि जितेको थियो ।

सबै खेलाडी तयारी अवस्थामा रहेपनि साफ च्याम्पियनशीपले खेलाडीको प्रदर्शनको स्तर र वास्तविकता मापन हुने उहाँले खुलाउनुभयो । साफ च्याम्पियनशीप जित्दा वरीयतामा सुधार हुनुका साथै एशिया कप फुटबल २०२२ को तेस्रो चरणको छनोटमा राम्रो गर्ने प्रेरणा मिल्ने उहाँले बताउनुभयो ।

प्रशिक्षक अलमुतैरीले खेलमा राम्रो गर्नुका साथै खेलाडीको भविष्य उज्जवल होस् चाहना राखेर प्रशिक्षण दिइरहेको बताउनुभयो । उहाँले खेलाडीले अबकास पाएपछि ए वा बी लेभलको प्रशिक्षकको भूमिकामा खर्रो उत्रिन लायक प्रशिक्षण दिइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया