उत्पादनमूलक उद्योग स्थापनाका लागि नीतिमा सरलीकृत गरिन्छ : अर्थमन्त्री

  भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी र स्वरोजगारीे वृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगलाई परियोजना धितोमा रु पाँच करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल उद्योग परिसङ्घले आज अर्थमन्त्री जनार्दन शर्मालाई सुझावपत्र पेश गरेको छ ।

सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थमन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारीपत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि सिएनआइले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।

सो अवधारणामा विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ । त्यसका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानून मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्नेलगायतका सुझाव समेटिएको छ ।

सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्नुभयो । उहाँले उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनका लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिनुभयो । “के गर्दा सरकारको राजस्व वृद्धि हुन्छ र निजी क्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु”, उहाँले भन्नुभयो, “श्रम शक्तिको हिसाबले अहिलेको समय उपयुक्त समय हो । देशमा युवा बहुल जनसङ्ख्या भएको बेला हो यो । समय घर्कियो भने काम गर्न गाह्रो हुन्छ । यो अवसरलाई ध्यान दिएर काम गर्न जरुरी छ ।”

सुझावपत्र हस्तान्तरण गर्ने क्रममा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै जारी मौद्रिक नीति समग्रमा राम्रो रहेको भन्दै सीसीडी रेसियो खारेजीले सिर्जना गरेको अन्योल चाँडै हटाउन माग गर्नुभयो । अर्थमन्त्री शर्माले केही द्विविधा रहेको भए समाधान हुँदै जाने बताउनुभयो । सो अवसरमा परिसङ्घका उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाललगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया