लक्ष्मी लम्साल
बेइजिङ, साउन ३०
जुलाई २३ देखि अगस्ट ८ सम्म ३२ औं ग्रीष्मकालीन ओलम्पिक जापानको राजधानी टोकियोमा सम्पन्न भएपछि अब विश्वको नजर चीनतर्फ मोडिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूमा आसन्न हिउँदे ओलम्पिक निर्धारित समयमा, विना अवरोध आयोजना हुन सक्छ कि सक्दैन भनेर अनेकन विश्लेषण हुन थालेका छन् ।
हिउँदे ओलम्पिकका लागि चीनमा बनाइएको नेसनल स्पिड स्केटिङ सेन्टर । तस्बिर : सीजीटीएन
दुइटा कारक तत्वका कारण हिउँदे ओलम्पिकप्रति सन्देह छ । पहिलो, विश्वभरको कोरोना महामारी र दोस्रो चिनियाँप्रति पश्चिमाजगतको नजर ।
तीव्रता, उच्चता, सबलतासँगै नयाँ शब्द ‘टुगेदर’ अर्थात् साथसाथ भन्ने थपिएपछि यस युगको ठूलो संकट कोरोना महामारीमा टोकियोले विश्वमा एकताको भावना प्रतिविम्बित गरायो । तुलनात्मक कम भीडभाडमा ओलम्पिक भावना सार्थक तुल्याउन सफल रह्यो । कोभिड–१९ भाइरसले विश्व आक्रान्त र शिथिल छ । यही मौकामा केही शक्तिराष्ट्रले ध्रुवीकरण अभियान चर्काए पनि खेलाडीहरूले आ–आफ्नो संस्कृतिसहित विश्वलाई एकताबद्ध गरिछाडे ।
सन् २०१३ सेप्टेम्बरमा जापानले ३२ औं ग्रीष्मकालीन ओलम्पिक आयोजना अधिकार पाउँदा २०११ को भयंकर भूकम्प र सुनामीले पूर्वी जापान थला परेको थियो । आफ्नो पुनरुत्थानको सहानुभूति बटुल्न र मानव इतिहासको डरलाग्दो परमाणु ऊर्जा दुर्घटना बिर्साउन तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले प्राकृतिक विपत्सँगै महामारीको मिलीजुली सामना गर्ने सन्देश दिन खोजेका थिए ।
कोरोना महामारीबीच २०२० मा आबेले राजीनामा दिए र योसिहिदे सुगा सत्तासीन भए । ओलम्पिकको महापर्व एक वर्ष पछाडि धकेलेर तत्कालका लागि सुरक्षित अवतरण गरियो । स्थगनको समयमा जापानमा कोरोनाका दैनिक संक्रमित संख्या दर्जन हाराहारी हुन्थ्यो । ओलम्पिक जारी रहँदाको अवधिमा जापानको कोरोना संक्रमण ४ हजार देखि जुलाई अन्त्यसम्म त दैनिक १० हजार पुगेको दाबी गरिन्छ । महामारीको अघिल्लो र वर्तमानको अवस्थामा तात्विक भिन्नता नभए पनि अन्योलपूर्ण वातावरणमा सुधार त अवश्य छ । अन्ततः जापानलाई ओलम्पिक आयोजना गर्न अनुमति दिइयो, सहभागिता जनाइयो, खेलाडीहरू सुरक्षित तरिकाले खेलेर बिनासंक्रमण आ–आफ्नो घर फर्किए । स्वास्थ्य मापदण्डको घेरामा खेलाडीहरूलाई केही सकस त अवश्य भयो नै ।
तस्बिर : सीजीटीएन
टोकियोपछि अब बेइजिङको पालो । २०२२ को फेब्रुअरी (४–२०) मा हुने खेल महाकुम्भका लागि चीन तात्तिएको छ । अबको ६ महिनापछि महामारीको स्थिति के हुन्छ, यसै भन्न सकिँदैन । तर आसन्न हिउँदे ओलम्पिक चीनमा हुने भएकाले केही राष्ट्रहरूले एजेण्डा तताउन थालेको देखिन्छ । टोकियो ओलम्पिक देखेपछि जापानकै छिमेकी चीनभित्र केही समयको अन्तरालमा हुने ओलम्पिकका लागि स्वास्थ्य संकटको कारण देखाएर पूर्वाग्रह पाल्नु हतारो हुन्छ । उसो त जापानभित्र पनि केही मात्रामा ओलम्पिक स्थगनको माग राखेर नारा–जुलुस भए तर बिना कुनै कमजोरी सौहार्द्र समापनबाट आत्मविश्वासको सन्देश प्रवाहित भएको छ । उस्तै परिस्थिति र महामारी नियन्त्रणको भुक्तभोगी भइसकेको चीनमाथि यसै विषयलाई आधार मानेर बहिष्कारको शब्द सतहमा आउनुले चिन्ता थपेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बेलायती मिडियाले विश्वका धेरै मुलुकमा महामारी अनियन्त्रित अवस्थामा रहेकाले बेइजिङ ओलम्पिक रोक्नुपर्ने धारणा अघि सारिरहेका छन् । बेलायती मिडियाले अस्ट्रेलियालाई पनि उचाल्न थालेको उनीहरूले उल्लेख गरेका छन् ।
कोरोना महामारीपछि हिउँदे ओलम्पिक आयोजनामा चीनको तगारो बन्नसक्ने दोस्रो विषय परम्परागत मानव अधिकारको नारा हो । हिउँदे ओलम्पिक स्थगनको ‘लबिङ’ सुरु गर्न थालेका पश्चिमा शक्तिहरूले सन् २००८ को बेइजिङ ओलम्पिकमा जस्तै विषय उठाएका छन्, जुन दशक पुरानो भइसक्यो । दोस्रो विश्वयुद्धयता मुलुकहरूबीच खेलकुदमार्फत् आदानप्रदानको घनिष्ठता र शान्तिको प्रवर्द्धन नै ओलम्पिक भावना हो ।
सिंगापुरको ल्यान्ह चाउपाउका अनुसार अमेरिकी कंग्रेसका केही सदस्यहरूले अझ धेरै हिंसा नहोस् भन्दै बेइजिङ ओलम्पिकप्रति विरोधको स्वर निकाल्न थालेका छन् । सर्वसाधारणले हिउँदे ओलम्पिक स्थगनको कुरा सोचिरहेका छैनन् तर अमेरिकी कंग्रेसहरू सल्बाउन थालेको देखिन्छ । अमरिकी मिडिया रिपोर्टका अनुसार कंग्रेसका धेरै सदस्यहरूले हिउँदे ओलम्पिकका लागि ठूलो गडबडीको तानाबाना बुन्न थालेका छन् । सिन्च्याङ कटनमा जबर्जस्ती श्रमको मुद्दा उठाएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाखलाई ओलम्पिक स्थगन वा आयोजनास्थल परिवर्तन गर्न अमेरिकी सिनेटरहरूले दबाब दिएका छन् । डेमोक्याट्रिक र रिपब्लिकन पार्टीका सदस्यहरूले जबरजस्ती श्रमको विषय उछाल्न चाहेका छन् ।
जुलाई तेस्रो साता अमेरिकी राष्ट्रपति प्रशासनका सिनेटरहरू जेफ मार्कली र जेम्स म्याक्सगावन तथा पूर्व सांसदहरूसम्मिलित टोलीले आईओसी अध्यक्षलाई चीनले युग्युर तथा अल्पसंख्यक जातिमाथि गरेको नरसंहार नरोकेसम्म हिउँदे ओलम्पिक स्थगित गर्न पत्राचार गरेको छ । त्यसप्रति अमेरिकी ओलम्पिक कमिटी प्रमुख सुसेन लेओन्सले भनेकी थिइन्, ‘ओलम्पिक बहिष्कारलाई हामी समर्थन गर्दैनौं । सिनेटरहरूले विभेदको कुरा उठाउनु भनेको राजनीतिक खेल मात्रै हो ।’
तस्बिर : सीजीटीएन
दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापक मतभेदहरू छन् र दुवै शान्तिपूर्ण वार्ताका पक्षमा देखिन्छन् । तर रस्साकस्सीले दुवैको स्थिरताका बाटोभरि अवरोधहरू नै प्रचुर निम्त्याइएका छन् । पहिलो पटक सन् २००८ मा चीनमा ग्रीष्मकालीन ओलम्पिक हुँदा पनि ठूलो संख्यामा अमेरिकी राजनीतिज्ञहरूले उही मुद्दा उठाएका थिए । अमेरिकी सरकार र कम्पनीहरूलाई बेइजिङ ओलम्पिकप्रतिको समर्थन रद्द गर्न दबाव दिएका थिए । यतिखेर पनि उनीहरू उस्तै स्वर निकालिरहेका छन्, ओलम्पिकपछि चीनको सम्भावित प्रभावलाई देखेर ।
चीनमा महामारी नियन्त्रणको अवस्था तुलनात्मक राम्रो छ । हुनसक्छ ६ महिनापछिको परिदृश्य अझ राम्रो बन्नेछ । अहिल्यै प्रक्षेपण गर्नु हतारो हुन्छ, यद्यपि चीनले बुझेको छ, महामारी नियन्त्रित अवस्थामै भए पनि आगामी दिनहरूलाई हल्का रूपमा लिनु हुँदैन । चीनले हिउँदे ओलम्पिक आयोजनाका लागि आत्मविश्वासका साथ तयारीहरूलाई अन्तिम रूप दिइरहेको छ । चिन्ता गर्नुपर्ने विषय पश्चिमाको बखेडाको तुरुप कत्तिको कामयावी हुन्छ भन्ने हो । चीनको चिन्ता अरू देशमा महामारी नियन्त्रण भएर स्थिति अझ खुलामय हुनसक्छ । किनभने यदि ती मुलुकहरूमा महामारी अनियन्त्रित नै रह्यो भने सहभागिताका लागि सजिलो हुने छैन ।
सन् २००८ मा चीनले ग्रीष्मकालीन ओलम्पिकमार्फत् आफूलाई प्रमाणित गरिसकेको छ । आसन्न हिउँदे ओलम्पिकमार्फत् विश्वलाई आफ्नो शक्ति देखाउने चीनको महत्त्वाकांक्षामा शक्तिराष्ट्रहरूको विरोध सशक्त हुन्छ कि चीनले ऐतिहासिक ओलम्पिक आयोजना गर्छ, पर्खिंदै र हेर्दै जानुपर्ने हुन्छ । (स्रोत : कान्तिपुर)