दुग्ध किसानलाई दुई रूपियाँ अनुदान

  साउन २३, २०७८

काभ्रे, साउन २३ : पनौती नगरपालिका–८ मा रहेको खरीबोट दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले उक्त सहकारीमार्फत दूध बेच्ने किसानलाई अनुदान रकम वितरण गरेको छ ।

बागमती प्रदेश सरकारले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ प्रोत्साहनमा आधारित कार्यक्रममार्फत अनुदान दिँदै आएको छ । सोही रकम उक्त सहकारीले शुक्रबार एक कार्यक्रमका बीच दुग्ध किसानलाई वितरण गरेको थियो ।

खरीबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवं पनौती नगरपालिका–८ का वडाध्यक्ष केशव बन्जाराले १०६ किसानलाई अनुदानको रकम वितरण गरेको बताउनुभयो । उहाँका अनुसार सहकारीमार्फत एक वर्षमा सङ्कलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपियाँका दरले छ लाख ३८ हजार २८८ रुपियाँ बागमती सरकारले अनुदान दिएको थियो ।

किसानलाई प्राप्त हुने उक्त अनुदान रकम पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, खरीबोट सहकारीका अध्यक्ष गुरुप्रसाद बन्जारालगायतले वितरण गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत वाग्ले पनौती नगरले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया