न्यु खिम्ती सबस्टेसन ट्रान्सफर्मर चार्ज सम्पन्न : तामाकोसीको विद्युत् सीधै काठमाडौँसम्म

  साउन २३, २०७८

चरीकोट (दोलखा), साउन २३ : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको छ । रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित १०० एमभीए क्षमताको २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको हो ।

बिहीबार राति ११ बजे २२० जीआईएस (ग्यास इन्सुलेटेड सबस्टेसन)बाट उक्त ट्रान्सफर्मर चार्ज गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका उपप्रबन्धक पूर्णगोपाल रञ्जितले बताउनुभयो । उहाँका अनुसार सबस्टेसनका चारवटा ट्रान्सफर्मरमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ भने एउट जगेडा राखिएको छ ।

सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको र ठाउँसमेत थोरै ओगट्ने जीआईएस गत असारको तेस्रो साता चार्ज गरी तामाकोसी आयोजनाले विद्युत् उत्पादन र प्रसारण लाइनमार्फत वितरण गरिरहेको छ । यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लैजानुपर्ने थियो ।

२२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हुँदै काठमाडौँसम्म लैजान सकिने उपप्रबन्धक रञ्जितले बताउनुभयो । दोलखामै उत्पादित ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लागि बनाइएको १३२ केभीको यो प्रसारण लाइन लामोसाँघुसम्म सिङ्गल सर्किट ४६ किलोमिटर छ भने भक्तपुरसम्म डबल सर्किट ९६ किलोमिटर रहेको छ । उक्त प्रसारण लाइनबाट ६० मेगावाटदेखि अधिकतम १२० मेगावाटसम्म विद्युत् काठमाडौँ लान सकिन बताइएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गत असार २१ देखि पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन थलेको थियो भने हालसम्म चारवटा युनिटबाट ३०४ मेगावाट विद्युत् उत्पादन भइरहेको गोरखापत्र अनलाइनले जनाएको छ । 

तपाईको प्रतिक्रिया