‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’

  साउन २२, २०७८

नयाँ दिल्ली, भारत, साउन २२ : पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ ।

‘खेल रत्न पुरस्कार’ लाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कारमा रूपान्तरण गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घोषणा गर्नुभएको हो ।

पुरस्कारबारे ट्वीटरमा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “मलाई भारतभरका नागरिकबाट मेजर धयान चन्दको नाममा ‘खेल रत्न पुरस्कार’ नाम घोषणा गर्न धेरै अनुरोधहरू आएका छन् । उनीहरूको खेलप्रतिको माया र उचित दृष्टिकोणको लागि म सबैलार्ई धन्यवाद दिन चाहन्छु ।”

“खेलप्रेमी सबै भारतीयको भावनालाई सम्मान गर्दै खेल रत्न पुरस्कारलाई अबदेखि मेजर ध्यान चन्द खेल रत्न पुरस्कार भनिनेछ,” सन्देशमा भनिएको छ ।

उहाँले थप्नुभयो, “मेजर ध्यानचन्द भारतका लागि सम्मान र गौरव ल्याउने भारतका अग्रज खेलाडीमध्ये एक हुनुहुन्थ्यो । त्यसैले हाम्रो राष्ट्रको सबैभन्दा उच्च सम्मान उहाँकै नामले चिनिनु उपयुक्त छ ।”

ओलम्पिक खेलमा ४१ वर्षपछि भारतीय पुरुष हक्की टोलीले काँस्य पदक जितेको एक दिनपछि यस्तो निर्णय आएको हो । ध्यान चन्द आफ्नो जादुयी हक्की खेल कौशलका लागि प्रसिद्ध हक्की खेलाडी हुनुहुन्थ्यो ।

उहाँ सन् १९२८, १९३२ र १९३६ को ओलम्पिकमा स्वर्ण पदक दिलाउने भारतीय हक्की टोलीका सदस्य हुनुहुन्थ्यो । भारतले प्रसिद्ध हक्की खेलाडी ध्यान चन्दको जन्म जयन्तीको उपलक्ष्यमा अगस्ट २९ लाई राष्ट्रिय खेलकुद दिवसका रूपमा मनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया