गण्डकी, साउन ८ : पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताउनुभयो । उहाँका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने गरेका छन् ।
हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । पाँच करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।
विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभयो । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिनुभयो । नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राख्नुभयो ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल, विमान बंगलादेशका प्रतिनिधिलगायतले ढाका–पोखराबीचको पर्यटकीय साझेदारी सम्बन्धमा बोल्नुभएको थियो ।