काठमाडौँ, साउन १ : फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।
कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ ।
उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो ।
यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ । त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।