काठमाडौं, असार ३० : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई तीन विकेटले हराएको छ । तेस्रो खेलमा जितसँगै इंग्ल्याण्डले तीन खेलको एकदिबसीय श्रृखंला ३–० ले जितेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ३३२ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन १२ बल बाँकी छँदै मात्र सात विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्याण्डको जितमा मध्यक्रमका ब्याट्सम्यान जेम्स भिन्सले शतकीय पारी खेल्नुभयो । लेविस ग्रेगोरीले ७७ रनको योगदान दिनुभयो । क्रैग ओभर्टनले १८ तथा ब्राइडन कार्सले १२ रन बनाएर अविजित रहे । पाकिस्तानका लागि हरिश रौफले सर्बाधिक चार तथा शदाब खानले दुई र हसन अलिले एक विकेट लिए ।
त्यसअघि, बर्मिघंममा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाकिस्तानले पुरै ५० ओभर खेलेर नौ विकेटको क्षतिमा ३३१ रनको सम्मानजनक योगफल तयार गर्यो । पाकिस्तानको ब्याटिङमा इमाम उल हकले ५६ र कप्तान बाबर आजमले सर्बाधिक १५८ रनको योगदान दिनुभयो । मोहम्मद रिजवानले ७४ रनको योगदान दिनुभयो । २९२ रनमा मात्र तीन विकेट गुमाएको पाकिस्तानले ३९ रन जोडन थप छ विकेट गुमाउन पुग्यो ।
इंग्लीश बलरहरुमा सकिब महमूदले तीन तथा ब्राइडन कार्सले सर्बाधिक पाँच विकेट लिनुभयो । इंग्ल्याण्डका जेम्स भिन्स प्लेयर अफ द् म्याच तथा सकिब महमूद प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।