कञ्चनपुर, असार २७ : बेलौरी नगरपालिका-८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उहाँ एक्लो किसानमा पर्नुहुन्छ ।
शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गर्नु भएको छ । यसमा उहाँले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गर्नु भएको छ । भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आउनु भएको छ ।
गत वर्ष चार विघा जग्गामा केरा खेती गर्नुभएका रानाले रु २० लाखको केरा बिक्री गर्नु भएको थियो । यसबाट खर्च कटाई उहाँलाई खुद रु छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उहाँले विस्तार गर्नु भएको छ । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उहाँ ढुक्क देखिनु हुन्छ । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उहाँले खेतमा रोप्नु भएको छ ।
शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उहाँले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाउनु भएको छ । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उहाँको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उहाँँले बताउनुभयो । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उहाँको भनाइ छ ।
गत वर्ष कृषि ज्ञान केन्द्रबाट उहाँले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गर्नु भएको थियो । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उहाँले भन्नुभयो, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।”
गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहँुदा ठगिने गरेका छौँ ।”
भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताउनुभयो । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उहाँले भन्नुभयो । केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उहाँको भनाइ छ ।
डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन् । उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उहाँले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी(आंशिक) रुपमा काम गर्ने गरी कामदार नियुक्त गर्नु भएको छ ।
घरमै केराका टिस्युकल्चर गरिएका विरुवाको नर्सरी
घरमै टिस्युकल्चर गरिएका जी नौ जातका केराको नर्सरी तयार गरी रानाले आम्दानी गर्दै आउनु भएको छ । नर्सरीमा उत्पादित विरुवा आफ्नै केरा फार्ममा रोप्ने र बाँकी रहेका बिरुवा अरुलाई बिक्री गर्नुहुन्छ ।
ग्रिन हाउसभित्र रानाले केराका विरुवाको नर्सरी स्थापना गरेका छन् । गत वर्ष ४० हजार बिरुवा तयार गरी बिक्री गरेका रानाले यस वर्ष ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरेका छन् । उत्पादित विरुवामध्ये ५० हजार बिक्री गरेका छन् । पाँच हजार बिरुवा नर्सरीमा बेच्न बाँकी रहेका छन् । उत्पादित पाँच हजार विरुवा विभिन्न कारणले मरेका छन् ।
“केराका उत्पादित विरुवा रु २० लाखमा बिक्री भएका छन्”, उहाँले भन्नुभयो, “यसबाट रु चार लाख आम्दानी भएको छ ।” उत्पादित केराका विरुवा शुक्लाफाँटा, बेलौरी, लालझाडी र पुर्नवासका ८० बढी किसानले खरीद गरी लगेका छन् । नर्सरीमा उत्पादित प्रतिबिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ ।