चरीकोट, असार २६ : स्वदेशी लगानीमा निर्मित दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार २१ गते उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ७६ मेगावाट बिजुली पूरा परीक्षणपछि शुक्रबार जोडिएको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
भदौ अन्त्यसम्ममा छवटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ । आफ्नै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको नेपालकै दोस्रो ठूलो २२०/१३२ केभी देवीटार सबस्टेसन (न्यु खिम्ती सबस्टेसन) हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने आयोजना प्रवक्ता डा. न्यौपानेले जानकारी दिनुभयो ।
गोँगरदेखि सो सबस्टेसनसम्म ४७ किमी २२० केभी डबल सर्किट प्रसारण लाइन तानिएको छ । यसका लागि १२७ वटा ट्रान्समिसन टावर निर्माण गरिएका छन् । हाल ५५ रोपनी जग्गामा बनेको सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिन्छ । सम्भाव्यता अध्ययनदेखि उद्घाटनसम्मको यात्रा पूरा गर्न आयोजनालाई करिब २० वर्ष लाग्यो ।