काठमाडौँ, असार १२ : मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस छ ।
पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा
मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ”, उहाँले बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पु-याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्नेछ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ ।