काठमाडौँ, असार ४ : कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङ्किङ कारोबार खुला गर्ने सहमति भएको छ ।
सङ्घका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो । पछिल्लो समय बैङ्कका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैङ्करको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय पनि सङ्घले गरेको उहाँले बताउनुभयो ।
निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ । अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् ।
परिस्थिति सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ । यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको सङ्घले जनाएको छ । यसअघि बैङ्कमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैङ्कर्स सङ्घले निर्णय गरेको थियो ।
वर्षाका कारण यसअघि रोकिएका काम पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको सङ्घले जनाएको छ । यसअघि बैङ्क तथा वित्तीय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी असार १ गते मङ्गलबारदेखि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो ।
नेपाल राष्ट्र बैङ्कले गत वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गर्दै नयाँ व्यवस्था गरेको थियो । यसअघि बैङ्कहरूले केन्द्रीय कार्यालयबाहेक उपत्यकामा पाँचवटा शाखा र उपत्यकाबाहिर स्थानीय प्रशासनको निर्देशनअनुसार शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
मङ्गलबारदेखि निषेधाज्ञा केही खुकुलो भएसँगै अब बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको चापअनुसार न्यूनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पूरा गरी शाखा सञ्चालन गर्न पाउने भएका थिए । व्यावसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनुपर्नेमा राष्ट्र बैङ्कले जोड दिँदै आएको छ ।
विद्युतीय बैङ्किङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्न आग्रह गर्दै राष्ट्र बैङ्कले सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैङ्क तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट, शाखा कार्यालयको मूल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नुपर्ने निर्देशन दिएको छ ।