काठमाडौं, असार १ : स्लोभाकियाले पोल्याण्डलाई हराएको छ । यूरो कप फुटबल २०२० अन्तगर्त समूह इ को पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डमाथि २–१ को जित हात पारेको हो ।
सेन्ट पिटर्सबर्गमा गए राति सम्पन्न खेलमा स्लोभाकियाले दश खेलाडीमा सीमित पोल्याण्डलाई हराएर विश्व वरीयताको ३६ औं स्थानमा रहेका स्लाभाकियाले तीन अङ्क बटुलेको छ । रोबर्ट म्याकको प्रहारलाई रोक्ने क्रममा पोल्याण्डका गोलकिपर वोसेक सेजेस्नीले रोक्दा ‘रिबाउन्ड’मा गोल हुन पुग्यो । र स्लोभाकियाले १८ औं मिनेटमा १–० को अग्रता लियो ।
४६ औं मिनेटमा कारोल लिनेट्टीले गोल गर्दै पोल्याण्डलाई खेलमा पुनरागमन गराउनुभयो । तर ६२ औं मिनेटमा मीडफिल्डर जेगोर्ज रिचोविकले दोहोरो ‘फौल’मा रातो कार्ड पाउँदै बाहिरिन पुग्दा पोल्याण्ड दश खेलाडीमा सीमित हुन पुग्यो । सात मिनेटपछि स्लोभाकियाले अबसरको सदुपयोग गर्दै गोल गर्दा उसले पोल्याण्डमाथि २–१ को अग्रता बनाउन सफल भयो । जितसँगै स्लोभाकिया समूह इ को शीर्ष स्थानमा उक्लेको छ ।