राशिद खानद्वारा अन्तर्राष्ट्रिय टी ट्वान्टीको नेतृत्व लिन अस्वीकार

  जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : अफगानिस्तानका स्पिनर राशिद खानले अन्तर्राष्ट्रिय टी ट्वान्टीको नेतृत्व लिन अस्वीकार गर्नुभएको छ । उहाँले आफू नेतृत्वकत्र्ता भन्दा खेलाडीकै रुपमा मूल्यवान रहने लागेको बताउनुभएको छ ।

२२ वर्षीय राशिदले इएसपीएनसँगको कुराकानीमा भन्नुभएको छ, “म खेलाडीकै रुपमा राम्रो रहेकोमा स्पष्ट छु, त उपकप्तानकै जिम्मेवारीमा बस्न चाहन्छु र कप्तानलाई आवश्यक परेको बेला सघाउन प्रयत्नशील रहनेछु ।” उहाँले कप्तानको जिम्मेवारी आएपछि ब्यक्तिगत् प्रदर्शनमा असर पर्ने चिन्ताले आफू वर्तमान भूमिकामै सन्तुष्ट रहेको बताउनुभयो । यद्दपी अफगानिस्तान क्रिकेट बोर्डले लिने निर्णयमा आफू सधैं सँगै रहने उहाँले प्रष्ट्याउनुभयो ।

पछिल्लो तीन वर्षमा अफगानिस्तान क्रिकेटको नेतृत्व गर्ने विषयलाई लिएर अस्थिरता देखिएको छ । सन् २०१९ को विश्वकप सुरु हुनुभन्दा दुई महिना अगाडि बोर्डले असगर अफगानको कप्तानी खोस्दै गुलबद्दीन नईबलाई एकदिबसीय र रहमत शाहलाई टेष्ट तथा राशिदलाई टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलिको कप्तान नियुक्त गरेको थियो । तर अफगानिस्तानले एउटै जित हात नपारेर विश्वकपबाट बाहिरिएपछि राशिदलाई तीनै स्वरुपको कप्तान नियुक्त गरियो ।

अफगानिस्तान क्रिकेट बोर्डले दुई साता अघि मात्रै असगर अफगानबाट कप्तानको जिम्मेवारी खोसेको थियो । हश्मतुल्लाह शाहिदीलाई अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्ट टोलिको कप्तान नियुक्त हुनुभयो । टी ट्वान्टी विश्वकप क्रिकेट सुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा अफगानिस्तान क्रिकेट टोलिको कप्तानको टुंगो लागेको छैन् ।

तपाईको प्रतिक्रिया