इङ्ग्ल्याण्डको अष्ट्रियामाथि जित

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : इङ्ग्ल्याण्डले अष्ट्रियामाथि १–० को जित हात पारेको छ । यूरो २०२० अगाडि भएको मैत्रीपूर्ण खेलमा इङ्ग्ल्याण्डले अष्ट्रियालाई हराएको हो ।

रिभरसाइड रङ्गशालामा गए राति सम्पन्न खेलमा हराउँदा आर्सनलका किशोर खेलाडी बुकायो साकाले गर्नुभएको एक मात्र गोल इङ्ग्ल्याण्डलाई जित दिलाउन पर्याप्त भयो ।

बुकायोको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भयो । दोस्रो हाफमा ५६ औं मिनेटमा बुकायोले गोल गर्नुभयो ।

अष्ट्रियामाथि जितसँगै इङ्ग्ल्याण्डले पछिल्लो सात मैत्रीपूर्ण खेलमा जित हात पारेको कीर्तिमान समेत बनाएको छ । जुन १९८५ देखि १९८६ सम्म सर बोबी रब्सनको प्रशिक्षणमा रहेको इङ्ग्लीश फुटबल टोलिले यसअघि लगातार सात मैत्रीपूर्ण फुटबल जितेको थियो ।

उक्त खेलमा अलेक्जेण्डर आर्नोल्ड घाइते हुन पुग्नुभयो । आर्नोल्ड घाइते भई मैदानबाट बाहिरिँदा यूरो कप २०२० को तयारीमा रहेको इङ्ग्ल्याण्डलाई भने धक्का लाग्न सक्नेछ ।

तपाईको प्रतिक्रिया