काठमाडौं, जेठ १८ : विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिता खेल्न कुवेत पुगेको नेपालको राष्ट्रिय फुटबल टोलिले अभ्यास सुरु गरेको छ । शनिबार इराकको राष्ट्रिय टोलिसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपाली फुटबल टोलि सोमबार कुवेत पुगेको थियो ।
अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय फुटबल टोलिले सोमबार मंगलबार कुवेतको काज्मा स्पोर्ट्स क्लबमा अभ्यास गरेको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको प्रशिक्षणमा टोलिका सदस्यहरु खेल मैदानमा अभ्यास गरेका छन् । एन्फाले साझा गरेको तस्विरमा टोलिका सदस्यहरु कुवेत पुग्ने बित्तिकै जिम क्लबमा शारीरिक अभ्यास गर्दै काज्मा स्पोर्ट्स क्लब पुगेका थिए ।
कुवेतमा नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको दोस्रो चरणमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले छनोट अन्तगर्तको छैठौं खेलमा बिहीबार चाइनिज ताइपेइको सामना गर्नेछ । नेपाल तालिकाको चौथो स्थानमा छ । नेपालले छनोट अन्तगर्तको पाँच खेलमध्ये एउटामा मात्र जित हात पार्न सकेको छ । नेपाल छनोट चरणमा समूह बी मा छ । कुवेत प्रस्थान गर्नुअघि नेपालले शनिबार इराक बिरुद्ध मैत्रीपूर्ण स्पर्धा गरेको थियो । जसमा नेपालले इराकसँग २–६ ले हार बेहोरेको थियो ।