काठमाडौं, जेठ १८ : अफगानिस्तान क्रिकेट बोर्डले असगर अफगानलाई कप्तानबाट हटाएको छ । जिम्बाबवे बिरुद्धको श्रृङ्खलाको क्रममा असगर अफगानको नेतृत्वबाट असन्तुष्ट बनेको बोर्डले उहाँलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ ।
हश्मतुल्लाह शाहिदी अफगानिस्तान क्रिकेट टोलिको टेष्ट र एकदिवसीय क्रिकेट टोलीको कप्तान नियुक्त हुनुभएको छ । उहाँ मध्यक्रमका ब्याट्सम्यान हुनुहुन्छ । रहमत शाह उपकप्तान नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीको कप्तान भने नियुक्त गरिएको छैन् । राशिद खान अन्तर्राष्ट्रिय टी ट्वान्टीको उपकप्तानको जिम्मेवारीमा भने रहीरहनुहुनेछ ।
शाहीदी अफगानिस्तान क्रिकेट टोलीका सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुनुहुन्छ । उहाँले गत् मार्च महिनामा जिम्मबाबवे विरुद्धको टेष्टमा दोहरा शतक समेत लगाउनुभएको थियो । अफगानिस्तानका लागि दोहोरा शतक लगाउनुहुने उहाँ पहिलो र एकमात्र ब्याट्सम्यान हुनुहुन्छ ।
पहिलो टेष्ट खेल दुई दिनमै सम्पन्न हुँदा अफगानिस्तानले ठूलो हार बेहोरेको थियो । तर हश्मतुल्लाहको ब्याटिङ्गले अफगानिस्तानले दोस्रो टेष्ट जित्दै श्रृङ्खला बराबरी गर्यो । पहिलो टेष्टमा अफगानिस्तानले हार बेहोरेपछि क्रिकेट बोर्डले छानबिन टोली गठन गरेको थियो ।
छानबिन टोलीले पहिलो टेष्टमा असगर अफगानको केही निर्णय सन्तोषजनक नरहेको निचोड निकालेको छ । असगर अफगान पछिल्लो १५ महिना यता अफगानिस्तान क्रिकेट टोलीको नेतृत्व गर्नुभएको थियो ।