काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको दोस्रो डोज लिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा हालसम्म सात लाख १४ हजार १६३ जनाले दोस्रो डोज पुरा गरेको उल्लेख गरेको छ । आइतबारसम्म छ लाख ८९ हजार ५१६ जनाले दुबै डोज लगाएका थिए ।
मन्त्रालयका अनुसार चौबीस घण्टाको अबधिमा कोभिड १९ बिरुद्धको खोपको पहिलो डोज लगाइएको छैन् । पहिलो डोज खोप लगाएका ब्यक्तिको संख्या २१ लाख १३ हजार ८० रहेको छ । खोप अभाबमा पहिलो डोजको खोप कार्यक्रमले निरन्तरता पाउन सकेको छैन् । नेपालमा कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारको कोरोना बिरुद्धको खोप दिइएको छ ।
कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनेकाले बिकास गरेको खोप हो । जसको उत्पादन भारतको सिरम इन्स्टिच्युटले गरेको छ । भारतले समयमै आपूर्ति गर्न नसक्दा कोभिशिल्ड खोपको अभाब देखिएको छ । पहिलो खेपमा भारतले दश लाख कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । नेपालले सिरम इन्स्टिच्युटबाट नै २० लाख खोप खरिद गर्ने सम्झौता गर्दा पहिलो खेप आएपनि दोस्रो खेप आउन सकेको छैन् ।
चीनले बिकास तथा उत्पादन गरेको भेरोसेल खोप भने नियमित रुपमा दिइएको छ । मंगलबार मात्रै चीनले थप आठ लाख ५० हजार भाइल खोप नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराएको छ । यसअघि पनि चीनले आठ लाख डोज उपलब्ध गराएको थियो । नेपालमा माघ दोस्रो सातादेखि खोप कार्यक्रम सञ्चालनमा रहेको छ ।