काठमाडौँ, जेठ १५ : प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याइन लागेको सरकारी पक्षको दाबी छ । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।