टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने

  जेठ १४, २०७८

टोकियो, जेठ १३ : टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्का हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।

जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।

जापानको ओलम्पिक कमिटीले आगामी मङ्गलबारबाट ती प्रतिनिधिलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

उनीहरुलाई आगामी मङ्गलबारबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

जापान सरकारले नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलको आयोजना गरिँदैछ ।

तपाईको प्रतिक्रिया