न्यादी जलविद्युत्को काम प्रभावित

  जेठ १४, २०७८

लमजुङ, जेठ १४ : निर्माणको अन्तिम चरणमा पुगेको लमजुङस्थित न्यादी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्ने समय पछि धकेलिएको छ । विद्युत् गृहमा जडान गरिएका उपकरणको परीक्षणका लागि कोभिड–१९ का कारण चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादनको समय पछि धकेलिएको हो ।

३० मेगावाट क्षमताको आयोजनाबाट जेठभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको थियो । न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले आयोजनाको निर्माणतर्फका सबै काम सम्पन्न भएको जानकारी दिनुभयो । विद्युत् गृहमा चिनियाँ कम्पनीका छवटा उपकरण जडान गरिएका छन् । जुन कम्पनीका उपकरण प्रयोग गरिएको हो त्यही कम्पनीका प्रतिनिधि आएपछि मात्र परीक्षण गर्न मिल्ने भएको तर कोभिड–१९ का कारण अहिलेसम्म चारवटा कम्पनीका प्रतिनिधि आउन सकेका छैनन् ।

कम्पनीका अनुमति मात्र व्यक्तिले नहेरेसम्म केही गर्न नसक्ने अमात्यले बताउनुभयो । “चीनबाट प्राविधिक आउने विषयमा छलफल भइरहेको भए पनि नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यताबाट प्राविधिक आउने आँट गरेका छैनन्,” अमात्यले भन्नुभयो । बाँध क्षेत्रको परीक्षण सकिएको, मुख्य पाइपको परीक्षण गर्ने क्रममा केही ठाउँमा देखिएको समस्या मर्मत भइरहेको र मुख्य सुरुङको परीक्षणको तयारी भइरहेको अमात्यले जानकारी दिनुभयो । आयोजनाको सबस्टेसनका सामग्री एक साता अगाडि आएपछि निर्माणको काम भइरहेको छ ।

आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले आयोजनाले नौ किलोमिटर प्रसारण लाइन निर्माणको काम पनि चरणमा पु-याएको छ । “२५ वटा टावरमध्ये २२ वटा निर्माण भइसकेका छन् । विद्युत् गृह नजिकै निर्माण भइरहेको स्वियार्ड र प्रसारण लाइनको काम करिब एक महिनाभित्रै सम्पन्न हुन्छ,” गड्तौलाले भन्नुभयो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा केही तल रहेको १३२ केभी भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको विद्युत् २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्नेगरी नेपाल विद्युत् प्राधिकरणसँग प्रसारण सम्झौता भए पनि प्रसारण लाइन तयार नहुँदा भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जोडिने भएको हो ।

आयोजना निर्माणको काम चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले लिएको थियो । उनीहरूकै अगुवाइ र सुपरभिजनमा नेपाली कामदारले काम गरिरहेको छ । बुटवल पावर कम्पनीको ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनीको २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करिब चार अर्ब ३८ करोड रुपियाँमा सक्ने गरी डिजाइन भए पनि आयोजना निर्माण सक्दासम्म लागत बढ्ने आयोजनाले जनाएको छ । 

तपाईको प्रतिक्रिया