कृषकले पाएनन् दूधको भुक्तानी, पैसाको साटो नौनीका डल्ला

  जेठ १४, २०७८

दमौली, जेठ १४ : तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका दुग्ध उत्पादक कृषकले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी पाएका छैनन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्दै आएका कृषकले गत पुस महिनादेखि दूधको मूल्यको सट्टा नौनी लिन बाध्य भएका छन् ।

सहकारीमा सङ्कलित दूध पोखराको सुजल डेरीले लैजान्छ । त्यही सुजल डेरीमा उत्पादित नौनी किसानलाई दूधको मूल्यको सट्टामा दिने गरिएको छ । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रुपियाँ छ । त्यही दूधबाट उत्पादन गरेको नौनी प्रतिकिलो ७९८ रुपियाँमा किसानले लिनुपरेको छ ।

दूध उठाउने सुजल डेरीले मिल्क होलिडे गर्छौं भनेपछि त्यहीँको नौनी किसानलाई बाँडेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल तिवारीले बताउनुभयो । सहकारीमा ११० किसान आबद्ध छन् । दैनिक चार हजार लिटरको हाराहारीमा सहकारीको सङ्कलन केन्द्रमा दूध सङ्कलन हुन्छ ।

गत वर्ष कोरोनाको सङ्क्रमण रोक्न बन्दाबन्दी भएदेखि कम्पनीले नियमित दूधको भुक्तानी सहकारीलाई दिन सकेको छैन । दुई करोड रुपियाँभन्दा बढी सुजल कम्पनीसँग दूधको भुक्तानी लिन बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । कम्पनीबाट नियमित पैसा नआउँदा सहकारीले किसानलाई गत पुसदेखिको भुक्तानी गरेको छैन ।

दूधको रकम किसानलाई भुक्तानी गर्न नसके पनि कृषकलाई घरघरमै दाना, चोकर, औषधि, खोप र प्राविधिकको व्यवस्थापन भने गर्ने गरिएको तिवारीले बताउनुभयो तर दूधको मूल्य समयमा नपाउँदा निकै गाह्रो भएको दुग्ध उत्पादक कृषक काशिनाथ भट्टराईले बताउनुभयो । दुग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि बन्दीपुर गाउँपालिकाले प्रतिलिटर एक रुपियाँ अनुदानको व्यवस्था गरेको वडा नं. ५ का अध्यक्ष ध्रुवराज लामिछानेले बताउनुभयो ।

कोरोनाका कारण दूध र त्यसबाट उत्पादित पदार्थको बिक्री नभएकाले नियमित भुक्तानी दिन नसकिएको सुजल डेरीका कर्मचारी गुरु पौडेलले बताउनुभयो । नौनी स्टक राख्ने ठाउँको समेत अभाव रहेको तेलको सट्टा नौनी प्रयोग गर्न कृषकलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया