काठमाडौं, जेठ १३ : कोभ्याक्सअन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो ।
कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा खोपको नाम दिन जेठ १८ सम्म समय दिएको छ । नेपालले कोभ्याक्सअन्तर्गत १ करोड ३० लाख मात्रा खोप पाउनेछ । यसमध्ये ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप प्राप्त गरिसकेको छ । खोप सल्लाहकार समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने र कम लागत लाग्ने खोप विकल्पमा सिफारिस गरिएको जानकारी दिए । ‘कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन र अन्य देशमा उत्पादन भएको अक्सफोर्ड–अस्ट्राजेनेकाको फर्मुलामा अन्य देशमा उत्पादित खोपलाई पहिलो प्राथमिकता राख्न सिफारिस गरिएको छ,’ समितिका एक सदस्यले भने ।
प्राकृतिक प्रकोप वा महामारीका बेला तत्काल खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा रायसल्लाह दिन राष्ट्रिय खोप सल्लाहकार समिति गठन गरिएको छ । समितिमा जनस्वास्थ्यसम्बन्धी विशेषज्ञ चिकित्सक वा वरिष्ठ बालरोग विशेषज्ञका तर्फबाट अध्यक्षमा डा. रमेशकान्त अधिकारी छन् । समितिको सदस्यमा मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक, नेपाल पेडियाट्रिक सोसाइटी वा निजले तोकेको सोसाइटीका प्रतिनिधि, इपिडिमियोलोजिस्ट, जनस्वास्थ्यविज्ञ, स्वास्थ्य अर्थशास्त्री र वरिष्ठ बालरोग विशेषज्ञमध्येबाट मन्त्रालयले मनोनयन गरेका तीन जना हुन्छन् ।
विभागका राष्ट्रिय खोप कार्यक्रमका प्रमुख सदस्य सचिव हुन्छन् । समितिको सिफारिसमा परेका खोप कोभ्याक्स सुविधामा दर्ता भएका छन् । नेपालमा चीन सरकारले उपलब्ध गराइसकेको सिनोफार्मले उत्पादन गरेको भेरोसेल कोभ्याक्स सुविधामा दर्ता छैन । चर्चामा रहेको रुसको स्पुतनिक–५ खोप पनि यसमा दर्ता भएको छैन । त्यसैले नेपालले यी खोप कोभ्याक्स सुविधाबाट तत्काल प्राप्त गर्न सम्भव छैन । ‘त्यसैले जोनसन एन्ड जोनसनको र अक्सफोर्ड–अस्ट्राजेनेकाकै खोप रोज्नुपरेको हो,’ ती सदस्यले भने ।
नेपालमा कोभिसिल्ड खोप १८ लाख २३ हजार ६ सय ६३ जनाले लगाइसकेका छन् । साढे १४ लाखले दोस्रो मात्रा लगाउन बाँकी छ । ‘कोभिसिल्ड भारत सरकारले तत्काल निर्यातको अनुमति दिने सम्भावना नभएपछि दोस्रो डोज लगाउन समस्या भयो,’ डा. पोखरेलले भने, ‘अब हामी कोभिसिल्डको मात्रै भर पर्दैनौं ।’ स्वास्थ्य सेवा विभागले जोनसन एन्ड जोनसनले तयार गरेको जनसन खोप र रसियाको स्पुतनिक–५ को खोप खरिदका लागि प्रस्ताव गरिसकेको छ । ‘दुवै कम्पनीले सकारात्मक जवाफ पठाएका छन्,’ विभागको आपूर्ति महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले भने, ‘यसका लागि कम्पनीले प्रतिनिधिसमेत पठाउने जवाफ दिएका छन् ।’ जनसन खोप एक डोज मात्र लगाए पुग्छ ।
दोस्रो मात्रा १२ सातापछि लगाए पनि हुने
खोप सल्लाहकार समितिको बैठकले कोभिसिल्ड खोप पहिलो मात्रा लगाएको १२ सातापछि पनि दोस्रो मात्रा लगाउन सकिने निर्णय गरेको छ । फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्डको पहिलो मात्रा लगाइएको थियो । उनीहरूलाई दोस्रो मात्रा जेठ अन्तिमसम्म दिइसक्नुपर्नेमा खोप आउने निश्चित छैन ।
‘१२ सातापछि पनि दोस्रो मात्रा खोप दिन सकिन्छ कि सकिँदैन भन्ने अन्योल छ । १२ सातापछि दोस्रो मात्रा दिए पनि खोप प्रभावकारी हुने रिपोर्ट छ,’ स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले भने । भारत सरकारले प्रभावकारी हुने भन्दै कोभिसिल्ड खोप १२ सातादेखि १६ साताभित्र दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो ।
खोप शाखा प्रमुख डा. गौतमले चीनको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लिन बाँकी रहेकाका लागि खोप सुरक्षित रहेको जनाएका छन् । पहिलो मात्रा लगाएर गाउँ गएका, कोरोना संक्रमण भएर एक महिना पूरा नभएका लगायतका समस्या हुनेका लागि खोप सुरक्षित रहेको उनले बताए । ‘उहाँहरूलाई खोप लगाउन फेरि समय तोक्छौं,’ उनले भने ।
गाउँ गएकाले स्थानीय तहमा दोस्रो मात्र लगाउनका लागि नाम टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरिसकेको छ । स्थानीय तहबाट संकलन भएको नामावलीका आधारमा दोस्रो मात्रा पायक पर्ने ठाउँमा लगाउने योजना मन्त्रालयको रहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।