चरिकोट, दोलखा जेठ ५ : दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ मा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजना यतिखेर परीक्षणको चरणमा छ । निर्माण सुरु गरेको करिब १० वर्षपछि उत्पादनको अन्तिम चरणका पुगेको तामाकोसीले गत वैशाख १६ गतेबाट मुख्य सुरुङ्गमा पानी हालेर परीक्षण कार्य सुरु गरेको थियो ।
सिभिल र हइड्रोमेकानिकल संरचनाहरूको परीक्षणको क्रममा एमएसओभीदेखि माथिल्लो भर्टिकल साफ्टसम्म परिक्षण सम्पन्न भएको छ । सो क्रममा ३७३ मिटरको तल्लो भर्टिकल र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्ट जोड्ने तेर्सो भागको पेनस्टक पाइपमा बनाईएको म्यानहोल अर्थात मानवद्वारको बिर्को लिक भएपछि परीक्षण रोकिएको तामाकोसी आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
म्यानहोल भनेको पेनस्टक पाइपमा कुनै समस्या आएमा भित्र छिरेर काम गर्न बनाईएको प्वाल हो । यस्लाई बिर्को लगाएर नटले कसिएको हुन्छ । हाल यही बिर्कोबाट पानी चुहिएकोले खोलेर मर्मत गरिरहेको उहाँले बताउनुभयो । ‘नटबोल्टले कस्दा दुईवटा पाताको सतह मिलेर जोड्नुपर्नेमा त्यो नहुँदा समस्या भएको देखिन्छ’ उहाँले भन्नुभयो, ‘अहिले बिर्को खोलेर दुईवटा पाताको सतह मिलाउने कार्य भइरहेको छ।’
परीक्षणको क्रममा सानोतिनो समस्या आउनु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले शुक्रबारसम्म यो कार्य सकिने र शनिबारदेखि पुनः सुरुङमा पानी बगाएर परीक्षणको काम निरन्तर हुने बताउनुभयो । ९० डिग्रीको तल्लो र माथिल्लो ठाडो सुरुङ खन्नदेखि त्यसमा पेनस्टक पाइप राख्न कठिन भई ढिलाइ हुँदा नै आयोजनाको काम पटकपटक पछि धकेलिएको थियो ।
आयोजनमा कुल एक हजार एक सय ६५ मिटर पेनस्टक जडान भएको छ । जस्मा तल्लो ठाडो सुरुङ, माथिल्लो ठाडो सुरुङ र यी दुई सुरुङ जोड्ने तेर्सो सुरुङमा जडान गरिएको पेनस्टक पाइप आयोजनाकै जटिल कार्य मानिन्छ । परीक्षणको क्रममा माथिल्लो भर्टिकल साफ्टसम्म नै पानी भर्दा दुईवटै भर्टिकल साफ्टमा कुनै समस्या आएको छैन् । म्यानहोलको बिर्को कसेपछि करिब साढे आठ किलोमिटरको मुख्य सुरुङमा समेत पानी भरेर परीक्षण गरिनेछ ।
त्यसमा कुनै समस्या नआएमा मुख्य सुरुङ र पेनस्टकमा भरिएको पानी एमएसओभीबाट बाईफरकेसन हुँदै छ वटा युनिटहरुमा पठाइन्छ ।
त्यसपछि पानीको प्रेसरले भूमिगत विद्युतगृहमा जडान गरिएका छ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग टेस्टिङ्ग र कमिसनिङ ( प्रारम्भ हुनेछ ।
यस क्रममा पहिलो युनिटबाट २०७८ साल जेठ भित्रै ६७ मेगावाट विद्युत उत्पादन सुरु हुने प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।