काठमाडौँ, वैशाख २७ : कोभिड –१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पताल बीच अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यसका लागि आज कामपाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र नरदेवी अस्पतालका निर्देशक डा प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कोभिड–१९ को दोस्रो लहरले काठमाडौँ उपत्यकामा हरेक दिन सङ्क्रमितको सङ्ख्या बढेर अस्पतालहरुको क्षमतामा कमी भइरहेको अवस्थामा बिरामीलाई समयमानै उपचार प्राप्त होस भनेर कामपाले नरदेवी अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो ।
सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने कामपाले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।
त्यसैगरी कामपाले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रङ्गरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर आगामी जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ । उपचारमा खटिएका जनशक्तिलाई प्रोत्साहन भत्ता, बिरामीका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिने छ ।
हिलो चरणमा ५० शय्याबाट अक्सिजनसहितको आइसोलेसन सेवा शुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतीपत्रमा उल्लेख छ । आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुईदुई जना प्रतिनिधि रहने व्यवस्थापन समिति गठन गरिनेछ । समितिले आइसोलेसन संञ्चालन व्यवस्थापनको समग्र व्यवस्थापन गर्नेछ ।
जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको कामाप क्षेत्र अझ जोखिममा छ । “यहाँ बसोबास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौँ, हामी सक्छौँ, आत्मविश्वास बढाऔँ, महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो । अस्पतालका निर्देशक डा. केसीले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वास गरेपछि महानगरलाई आफूले अभिभावकका रुपमा पाएको बताउनुभयो ।