काठमाडौँ, वैशाख १० : ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको स्वामित्व छ । त्यसैले सबै नेपालीले गौरवका साथ भन्न सक्छौँ, “हामीले बनायौँ, हाम्रो धरहरा ।” सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा उहाँले नै शनिबार उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले २०७४ फागुन ४ गते धरहराको ठूटो छेउमा उभिएर ऐतिहासिक धरोहर पुनर्निर्माण सङ्कल्पअन्तर्गत ‘मेरो धरहराः म बनाउँछु’ भन्ने अभियानको घोषणा गर्नुभएको थियो । अभियानमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘‘म भन्छु धरहरा हरेक नेपालीले बनाउनेछन् । एक एक नेपालीले बनाउनेछन् । मैले बनाउँछु, धरहरा म निर्माण गर्छु भन्ने नाराअन्तर्गत हामी आर्थिक सङ्कलन गर्नेछौँ । त्यसका लागि छुट्टै खाता खोलिनेछ र धरहरा निर्माण हुनेछ ।’’ ‘‘धरहरा म बनाउँछु, हामी बनाउँछौँ । हरेकको पसिना र मिहिनेतले धरहरा बन्छ,’’ उहाँले भन्नुभएको थियो । यस कामका निम्ति प्रधानमन्त्री ओलीले तत्काल बैङ्क खाता खोल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘‘मेरो एक महिनाको तलब राखेर खाता खोल्नुहोस् ।’’ उहाँले संसारको जुनसुकै कुनामा रहनुभएका सबै नेपालीलाई सम्बोधन गर्दै ‘हामी देश बनाउन सक्छौँ, हामी देशलाई नयाँ ढङ्गले उठाउन सक्छौँ । त्यस हिसाबले धरहराको पुनर्निर्माणलाई अगाडि बढाउनका निम्ति म सबैलाई हार्दिक अनुरोध गर्दछु,’ भन्नुभएको थियो । प्रधानमन्त्रीको घोषणापछि सोही दिन साँझ बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण अभियानको औपचारिक निर्णय गर्दै सहयोग गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीको निर्देशनको भोलिपल्ट राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोली रकम सङ्कलन सुरु गरिएको थियो ।
खातामा सबभन्दा पहिला प्रधानमन्त्रीको एक महिनाको तलब जम्मा गरिएको थियो । खातामा राष्ट्रपति, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, कर्मचारीहरू र सर्वसधारणद्वारा समेत रकम जम्मा गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसबेला तत्काल सो खातामा २४ करोड रुपियाँ जम्मा भएको थियो । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले सरकारको सम्पूर्ण लागतमा धरहराको निर्माण भएको जानकारी दिनुभयो । सरकारको लगानी जनताबाट उठेको कर नै हो । उहाँले भन्नुभयो, ‘‘धरहरा निर्माणमा विदेशी सहयोग एक पैसा पनि परेको छैन । ’’
उहाँले धरहरा निर्माणका लागि खाता खोली जम्मा भएको सम्पूर्ण रकम धरहरा निर्माणको खर्चमा नै मिलान हुने बताउँदै धरहरा निर्माणका लागि जम्मा भएको रकम अहिलेसम्म खर्च नगरिएको जानकारी दिनुभयो ।
नेपाल टेलिकमको एक अर्ब !
सल्लाहकार मानन्धरका अनुसार धरहरा निर्माणका लागि नेपाल टेलिकमले एक अर्ब रुपियाँ दिने घोषणा गरेको थियो । टेलिकमको सो घोषणापछि प्रधानमन्त्री ओलीले धरहरा निर्माणको जिम्मा नै टेलिकमलाई दिनुभयो । तर टेलिकमले व्यापारिक केन्द्रका रूपमा धरहरा क्षेत्र निर्माणको नक्सा तयार गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो नक्सालाई अस्वीकार ग-यो । त्यसका कारण टेलिकम धरहरा निर्माणबाट पछि हट्यो ।
टेलिकमले धरहरा निर्माणबाट पछि हटे पनि एक अर्ब रुपियाँ दिने प्रतिबद्धताबाट पछि हटेन । उहाँले अहिले पनि टेलिकमले सो रकम दिन तयार रहेको बताउनुभयो । गत हप्ता प्राधिकरण र टेलिकमबीच भएको बैठकमा टेलिकमले सो रकम दिने पुनः प्रतिबद्धता गरेको छ ।
उहाँले धरहरा निर्माणका क्रममा धरहरामुनिबाट लगिएका टेलिफोनका करिब २९ हजार लाइनको व्यवस्थापन गर्दा भएको क्षतिस्वरूप प्राधिकरणले टेलिकमलाई तीन करोड रुपियाँ दिने सहमति भएको बताउनुभयो ।
महत्त्वपूर्ण प्रयास
परातत्त्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले धरहरा निर्माणको परिकल्पना गरेदेखि निर्माण कार्य थाल्दासम्म निकै मिहिनेत र प्रयास गर्नुपरेको बताउनुभयो । “मानिसको शव लैजाने बाटो नरोक्न स्थानीय बासिन्दासँग सहमति गरेका थियौँ,” उहाँले स्मरण गर्नुभयो, “डिजाइन तयार गर्दा शव लिएर जानेबाटो कायम राखिएको छ ।” उहाँले निर्माण हुने नयाँ संरचनाले सुन्धारालाई छोप्ने विषय उठेको तर आफूहरूले सो छोप्न नमिल्ने अडान राखेकै कारण त्यस्तो योजना डिजाइनमा नपरेको बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।










