काठमाडौँ, वैशाख ७ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ ।
कृषि मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो लागोको फागुन १२ गते अनावरण गर्नुभएको थियो । बोर्डले कार्यविधि लागू गरेपछि लोगो प्रयोगमा आउने भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिनुभयो ।
दूध तथा दुग्धजन्य पदार्थको ढुवानी आवश्यक सेवाअन्तर्गत रहेको हुनाले दूध तथा दुग्धजन्य उत्पादनको गुणस्तर कायम राखी उपभोक्ताले प्रयोग गर्न सक्ने अवधि बढाउन, दूध तथा दुग्धजन्य पदार्थ ढुवानीमा प्रयोग हुने सवारी साधनलाई पहिचान खुल्ने गरी देशको जुनसुकै स्थानमा बिनाअवरोध निर्वाध रूपमा सञ्चालनमा सहजीकरण गर्नका लागि लोगो प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । दूध तथा दुग्ध पदार्थ ढुवानीमा प्रयोग हुने सवारी साधनमा प्रतीक चिन्ह प्रयोग गर्न इच्छुक प्रयोगकर्ताले सवारी साधनको विवरण, प्रयोग हुने क्षेत्र, प्रयोग अवधिसमेत खुलाई पाँच सय रुपियाँ दस्तुरसहित बोर्डसमक्ष निवेदन दिनुपर्ने हुन्छ ।
बोर्डमा पेस गरिएको सो निवेदन समितिमा पेस गर्नुपर्ने हुन्छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी हुने सवारी साधनमा प्रतीक चिन्ह (लोगो)को प्रयोग व्यवस्थापन तथा अनुगमन नियमनका लागि बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा आठ सदस्यीय अनुगमन, व्यवस्थापन तथा नियमन समिति हुन्छ । सो समितिले निवेदनमाथि छानबिन गरी प्रतीक चिन्ह (लोगो) प्रदान गर्न मिल्ने वा नमिल्ने विषय बोर्डमा जानकारी गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
तोकिएको सवारी साधनबाहेक दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका अन्य सवारी साधनमा प्रयोग गर्न पाइने छैन । प्रयोगकर्ताले एकभन्दा बढी सवारी साधनमा लोगो प्रयोग गर्न चाहेमा प्रत्येक सवारीको साधनको विवरण उल्लेख गरी निवेदन दिनुपर्ने हुन्छ । कसैले लोगो दुरुपयोग गरेको पाइएमा त्यसलाई सचेत गराउने वा इजाजतपत्र रद्द गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्रयोगकर्ताले इजाजत पत्रको म्याद बहाल रहेको अवधिभित्र कुनै कारणवश लोगो हराएमा वा नष्ट भएमा तीन सय रुपियाँ दस्तुरसहित प्रतिलिपिका लागि वोर्डसमक्ष निवेदन दिनुपर्ने छ । समितिको सिफारिसमा पुनः अर्को लोगो दिइने बोर्डको कार्यविधिमा उल्लेख छ । प्रयोगकर्ताले इजाजत पत्रसहित लोगो प्राप्त सवारी साधन दूध तथा दुग्धजन्य पदार्थ ढुवानीमा प्रयोग नगर्ने भएमा लोगो इजाजत पत्र रद्द गरी प्रतीक चिन्ह फिर्ता गर्न बोर्डसमक्ष पाँच सय दस्तुर अर्को निवेदन दिनुपर्ने हुन्छ ।