तनहुँ, बैशाख ३ : तनहुँको ऋषिङ गाउँपालिका ३ गोमनताल निवासी ६२ वर्षीय विष्णुमाया थापा दुई महिना निगुरो रो बेचेर वर्षभरीको लागि चाहिने खर्चको जोहो गर्दै आउनुभएको छ । लामो समय अघिदेखि सदरमुकाम दमौलीमा निगुरो बेचेर घरायसी खर्च नुनतेल लगायतका खाद्यान्न र कपडा एवं दशैं तिहारका लागि दक्षिणा रकमको जोहो गर्दैँ आएको घुम्तीमाया बताउनुहुन्छ ।
‘‘उत्पादका लागि लगानी गर्नु नपर्ने, पसिना बगाउन नपर्ने र आम्दानी पनि राम्रो हुने गरेकोले २० वर्ष अघिदेखि निगुरो बेचेर घरायसी खर्च धानेको छु’’ विष्णुमायाले भन्नुभयो । दैनिक ५० मुठा निउरो जङ्गलबाट टिपेर ल्याउने गरेको र ४० रुपियाँको दरले बिक्री गरी दैनिक दुई हजार रुपियाँ आम्दानी गर्ने गरेको विष्णुमायाले बताउनुभयो ।
विष्णुमायाको जस्तै व्यास नगरपालिका–३ विसघरेकी बुद्धिमाया थापा मगरको परिवारको आम्दानीको मूख्य आधार निगुरो बनेको छ । विष्णुमायाको परिवारले निउरो विक्री गरेर मनग्गे आम्दानी गर्दै आउनु भएको छ । परिवारको तीन जना निउरो टिप्न जाने गरेको दैनिक खर्च कटाएर पाँच हजार रुपियाँ आम्दानी गर्ने गरेको बुद्धिमायाले बताउनुभयो ।
१० वर्षदेखि निगुरो बिक्री गर्दै आएको चैतको अन्तिम सातादेखि जेठको अन्तिम साता सम्म तीन महिनासम्म मासिक डेढ लाख रुपियाँ गरी चार लाख ५० हजार रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो । घरघरै डुलाएर निगुरो बैच्दै आएको उहाँले जानकारी दिनुभयो । ‘‘थोक मूल्यमा बिक्री गर्दा प्रति मुठा २० रुपियाँमा मात्रै पाइन्छ घरघरै गएर बेच्दा दोब्बर फाइदा हुने भएकोले डोकोमा राखेर डुलेर बेच्ने गरेको छु’’ बुद्धीमायाले भन्नुभयो ।
जङ्गल तथा ओसिलो ठाउँमा मात्र पाइने निगुरो अहिले ग्रामीण बस्तीदेखि सहर बजारका घर भान्छामा प्रवेश पाएको छ । नेपालमा पाइने जंगली वनस्पति वर्गमा पर्ने निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भन्ने गरिन्छ । होटल तथा रेष्टुरेन्टहरुमा निगुरोको माग धेरै भएकोले बिक्रीका लागि समस्या नभएको निगुरो बेच्दै आउनुभएकी व्यास नगरपालिका–१२घाँसीकुवाकी की आइतीमाया विक बताउनुहुन्छ । निगुरो बेचेर हाल दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी गर्दै आएको आइतीमायाले बताउनुभयो ।
पहाडी भेगका ओसिलो ठाउँमा कालो र जंगलमा हरियो निगुरो पलाउने गर्छ । निगुरोले अहिलेको सुख्खा मौसममा बजार क्षेत्रका बासिन्दाको तरकारीको परिकार परिवर्तन मात्र गरेको छैन ग्रामीण भेगका किसानको आम्दानीको स्रोत पनि बनेको छ । निगुरोलाई कतिपयले तरकारी र कतिले अचारका रूपमा उपभोग गर्ने गर्छन् । यही निगुरो टिपेर अहिले वर्षभरिका लागि सन्तानका लागि अध्ययन, खाद्यान्न तथा लत्ता कपडाको खर्चको जोहो गर्दै आएको पाइएको छ । ऋसिङ गाउँपालिका– १ झापुटारकी अकला आलकोे परिवारलाई यतिबेला जङगलबाट निगुरो टिपेर ल्याई दमौली बजारमा बिक्री वितरण गर्न भ्याई/नभ्याई छ ।
अकलाको परिवारको मौसमी व्यापार हो । आफू जान्ने बुझ्ने भएदेखि नै गाउँमा उत्पादन भएका तरकारी, फलफूल तथा निगुरो दमौली बजारमा ल्याएर बेच्दै आएको अकलाले बताउनुभयो । निहुरो बचेर दुई छोरा र एक छोरीको अध्ययन तथा घरायसी खर्चको जोहो गर्दै आएको उहाँले बताउनभुयो । ‘‘सात जनाको परिवारको निगुरो बेचेर धानेको छु’’ अकालाले भन्नुभयो । दमौली बजारसँगै जोडिएका घाँसीकुवा, जामुने, काहुँशिवपुर, पोखरीभञ्ज्याङ, मानुङ, गोल्ला, बैरेनी, झापुटार, साँगे, छाब्दी, भुजेलगाउँ लगायतका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दा हाल जंगलको निगुरो टिप्ने र बिक्री गर्छन् । निगुरो उनीहरुको जीविकोपार्जनका आधार बनेको छ । निगुरो पौष्टिकताले भरिपूर्ण हुनुका साथै मानव स्वास्थ्यका लागि पनि निकै लाभदायक भएको बजार उच्च माग रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका अनुसार तनहुँका जंगल क्षेत्रमा पाइने निहुरो पोखरा, काठमाडौँ, चितवन लगायतका सहर बजारका उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । ग्रामीण क्षेत्रका कृषकहरूले टिपेर ल्याएको निहुरो बजार क्षेत्रमा तरकारी व्यापारी तथा व्यवसायीहरूले खरिद गरी ठूला बजार क्षेत्रमा बिक्री वितरण गर्दै आएका छन् । निगुरोको व्यापार जङगल आसपासका धेरै मानिसहरूको जीविकोपार्जनको माध्यम बन्दै गएको छ । ‘‘जङ्गलमा निगुरो टिपेर धेरैको घर चलेको छ, बालबच्चा पढाएका छन्, मैले पनि सिजनमा महिनाको ५० देखि ६० हजार कमाउने गरेको छु’’ ऋषिङ गाउँपालिका–२ काँहुशिवपुरका टेकबहादुर थापा मगरले भन्नुभयो । आम्दानीका हिसाबले निकै राम्रो देखिएको निगुरोस्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी भएको केन्द्रले जनाएको छ ।