टोकियो, वैशाख २ : जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुनसक्ने बताउनुभएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनुभएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ ।
एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिने क्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाइ सार्वजनिक भएको हो ।
जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताउनुभयो । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उहाँले भन्नुभयो ।
के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भन्नुभयो, “यो सम्भव छ ।” उहाँले अगाडि भन्नुभयो, “जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।”
टोकियो ओलम्पिक आयोजकको भनाइमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्णरुपमा प्रतिबद्ध छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताउनुभएको जनाएका छन् ।
जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो । जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
जापानमा खोप अभियानको नेतृत्व गरिरहनुभएका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भए पनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गर्नुभयो । उहाँले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताउनुभयो । गतवर्ष पनि कोभिडको सङ्क्रमण तीव्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ ।
दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् । आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कुल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कुल लागत करिब १५.४ अर्ब अमेरिकी डलर छ ।