चितवन, चैत ३१ : नयाँ वर्षको अवसर पारेर चितवनमा ठूला लगानीका दुईवटा होटल सञ्चालनमा आउने भएका छन् । पर्यटकलाई केन्द्रित गरी स्टार तहको सुविधा दिने होटल तथा रिसोर्ट सञ्चालनमा आउन लागेको हो । शिक्षा स्वास्थ्य तथा पर्यटन क्षेत्रमा लगानी गर्दै आएका चितवनका उद्योगी व्यवसायीले ठुलो लगानी गरेर होटल सञ्चालनको तयारीमा छन् ।
भरतपुर महानगरपालिका वडा नं. १० हाइटमा करोडौको लगानीमा होटल सिराइचुली सञ्चालनको तयारीमा छ । लगानीकर्ता कल्याण जोशीले भन्नु भयो ‘सुविधा सम्पन्न आकर्षक सेवा दिने उद्देश्यले होटल निर्माण गरेका छौ, अबको केही हप्ताभित्र औपचारिक रुपमा सञ्चालन गर्ने तयारी छ ।’ स्टार स्तरको सेवा हामीले दिनेछौ तर स्टारको प्रमाणपत्र लिने तयारी छ उहाँले भन्नुभयो ।
त्यस्तै गरी भरतपुर महानगरपालिका पटिहानी चितवन राष्ट्रिय निकुञ्जको नजिकै पटिहानी रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा छ । चार बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट सार्क सम्मेलन गर्न मिल्ने गरी निर्माण गरिएको लगानीकर्ता चूडामणि खनालले जानकारी दिनुभयो ।
सार्कको झल्को दिने गरी सातवटा सुविधासम्पन्न भिल्लाहरु निर्माण गरिएको छ ।
कोरोनाको कहरपछि पर्यटकीय क्षेत्रमा सुधार आउने भन्दै होटल तथा रिसोर्ट सञ्चालनको तयारीमा छन् । केही महिनाभित्रै सञ्चालनमा आउने लगानीकर्ताले जानकारी दिएको छ । करिब एक वर्ष कोरोनाका कारण पर्यटकीय क्षेत्रमा परेको असरबाट सुधार आउने आशामा रहे पनि पुनः कोरोनाको महामारी आउने हो कि भन्ने डर लागेको लगानीकर्ता जोशीले बताउनुभयो ।
त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नंं २९ मुग्लिन नारायणगढ सडकको नजिक भतेरीमा रिभर बैंक फल पार्क एण्ड रिसोर्ट निर्माणाधीन छ । ४८ कोठा रहेको यो रिसोर्ट बुटिक होटलको रुपमा विकास गरिने खनालले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई आवास तथा मनोरञ्जन प्रदान गर्न होटल तथा रिसोर्टले सुविधामा कुनै कमी नराख्ने लगानीकर्ताले जानकारी दिएका छन् । कोरोनाको सङ्क्रमण हट्ने वितिकै चितवनमा एक दर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आउने तयारी अवस्थामा छन् ।