धनगढी, चैत २७ : कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू महिला बेतबाँसको सामग्री बनाएर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशकदेखि घरमै बेतबाँसको सामग्री बनाएर उनीहरू लोभलाग्दो आम्दानी गर्न सफल भएका हुन् । यस्ता सामग्रीबाट राम्रो आम्दानी हुन थालेपछि कतिपयले अन्यत्र काम गरिरहेका आफ्ना परिवारका सदस्यलाई पनि घरमै फिर्ता बोलाएका छन् । “सबै खर्च कटाएर यो कामबाट वार्षिक १० लाख रुपियाँसम्म आम्दानी भइरहेको छ,” स्थानीय सरिता चौधरीले भन्नुभयो, “सीप सिकेर बेतबाँसको विभिन्न सामान बनाउन थालेपछि जागिरका लागि अन्यत्र चहार्नुपरेको छैन ।”
चौधरीका श्रीमान ट्रक चलाउने काम गर्नुहुन्थ्यो । घरमा नै बसेर राम्रो आम्दानी हुन थालेपछि श्रीमान्लाई ट्रक चलाउने काम गर्न नदिएको उहाँ बताउनुहुन्छ । “ट्रक चलाउनु जोखिम पनि छ र उहाँको ज्याला पनि धेरै थिएन,” उहाँले भन्नुभयो, “मैले आम्दानी गर्न थालेपछि उहाँलाई जोखिमयुक्त काम गर्न दिइनँ । अहिले उहाँ पनि घरमै मसँगै बेतबाँसको सामग्री बनाउने काम गरिरहनुभएको छ ।” चौधरीले बेतबाँसको विभिन्न सामग्री बनाउँदै आएको करिब १३ वर्ष भएको छ । एक हजारको बेत किनेर सुरुमा काम थालेको सुनाउँदै उहाँले अहिले यसै व्यवसायमा तीन लाख रुपियाँ लगानी गरेको सुनाउनुभयो ।
महिलाले बेतबाँसको कुर्सी, मुढा, ह्याङ्गर, टोकरी, टेबल, फोटोफ्रेम, सोफा, फूलदानी, पेन होल्डर, ब्रसदानीलगायतका सामग्री बनाउँदै आएका छन् । यस्ता समग्रीको माग सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भएकाले उत्पादन गर्न भ्याइनभ्याई रहेको चौधरीले बताउनुभयो । विगत एक दशकदेखि बेतबाँसको सामग्री बनाउँदै आउनुभएका लक्ष्मी चौधरीले उत्पादित सामान बिक्रीका लागि बजारको समस्या नरहेको बताउनुभयो । “उत्पादित सामग्री बिक्रीका लागि हामी बजार खोज्न कतै जानुपरेको छैन,” उहाँले भन्नुभयो, “बरु हामीले उत्पादन गरेको सामग्री खोज्दै किन्ने मान्छे आउने गरेका छन् ।”
बेतबाँसको सामग्री बनाउने काममा लाग्नुभएकी लक्ष्मी जिल्लामा सफल उद्यमीको पहिचानसमेत बनाउन सफल हुनुभएको छ । उहाँले सबै खर्च कटाएर मासिक ५० हजार रुपियाँसम्म आम्दानी हुने बताउनुभयो । “लगनशील भएर काम गरेपछि राम्रो आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । सुरुमा बेतबाँसको सामग्री बनाउने काममा एक्लै लागे पनि अहिले उहाँले बुहारी कल्पनालाई पनि यही काममा संलग्न गराउनुभएको छ ।
“बिहे गरेर आउँदा बुहारीसँग कुनै सीप थिएन,” उहाँले भन्नुभयो, “मैले उनलाई सीप सिकाएँ । अहिले उनी पनि बेतबाँसको विभिन्न सामान बनाउने काममा अग्रसर छिन् । ” सीप सिकेर आत्मनिर्भर हुन पाउँदा कल्पना पनि खुसी हुनुभएको छ । उहाँले हातमा सीप भएपछि जीवनमा धेरै आनन्द आएको बताउनुभयो । बेतबाँसका सामान बनाउनका लागि महिलाले टीकापुर नगरपालिकाको सत्ती कर्णालीलगायत विभिन्न सामुदायिक वनबाट बेत किनेर ल्याउने गरेका छन् ।