पोखरा, चैत २४ : १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सङ्कटा क्लबले गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको छ ।
पोखरेली मैदानमा छ पटक उपाधि उचालेको मनाङ मस्र्याङ्दी क्लब पहिलो पटक यस प्रतियोगिताको पहिलो खेलबाट नै बाहिरिएको हो । मनाङलाई हराएपछि सङ्कटाले सेमिफाइनलमा स्थान बनाएको छ ।
सङ्कटाका आयातित अफ्रिकी खेलाडी फोफोनाको गोलले आजको खेलको छिनोफानो गरेको हो । पूर्वाद्र्ध सकिन एक मिनेट बाँकी छँदा फोफोनाले रिबाउन्डमा गोल गर्नुभएको हो । अमित तामाङबाट फ्रिकिकमा प्राप्त बललाई सुवास गुरुङले क्रस गर्नुभएको थियो ।
सुवासको सो क्रस बल मनाङ मस्र्याङ्दीका खेलाडीबाट फर्केर फोफानाको खुट्टामा पुगेको थियो । सोही अवसरको सदुपयोग फोफोनाले गर्नुभएको हो ।
मनाङले पनि गोल गर्ने अवसर पाएको थियो तर पोखरामा लोकप्रिय टिम मनाङ आज अन्तिम लक्ष्य भेद्ने पक्षमा कमजोर बन्यो । इन्जुरी समयमा डिबक्समा बिनानिगरानीमा रहेका रञ्जन विष्टकै खुट्टामा बल पुगेको थियो ।
यद्यपि उहाँले बल सीधै सङ्कटाका गोलरक्षकको हातमा प्रहार गर्नुभयो । आजको खेलमा फोफोना म्यान अफ दी म्याच घोषित हुनुभयो । अन्तिम क्वाटरफाइनल मङ्गलबार थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुनेछ ।