बिजुवार, चैत १८ : प्यूठान नगरपालिका–९ मरन्ठानाका शिशिर जिसिले जिल्लामै पहिलो पटक स्ट्रबेरीको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ ।
उहाँले भाडामा लिएको दुई रोपनी क्षेत्रफल जग्गामा जापानी टोजी प्रजातिको चार हजार स्ट्रबेरीका बिरुवा रोप्नुभएको छ । फर्ममा अहिले स्ट्रबेरी फल्न सुरु गरेको जिसीले बताउनुभयो । स्ट्रबेरी खेतीमा एक लाख रुपियाँ लागत लागेको उहाँको भनाइ छ ।
खेतीका लागि उहाले पाखाचिती कृषि तथा पशुपन्छी संकलन केन्द्र नामक फार्म दर्ता गर्नुभएको छ । फार्मबाटै दैनिक दस केजी स्ट्रबेरी बिक्री हुने गरेको छ । प्रतिकिलो पाँच सय रुपियाँका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको फार्मका सञ्चालक जिसीले बताउनुभयो ।
उत्पादन र बिक्री राम्रो भएकाले आगामी वर्ष थप जमिनमा खेती गर्ने योजना रहेको जिसीले सुनाउनुभयो । ‘फल्छ कि फल्दैन भनेर परीक्षणका लागि स्ट्रबेरी खेती सुरु गरेको हुँ,’ जिसीले भन्नुभयो,’ स्ट्रबेरी राम्रै फल्यो, अहिले बेचिरहेको छु ।’
जिसीका अनुसार उत्पादित स्ट्रबेरी घरबाटै बिक्री हुने गरेको छ । रोपेको तीन महिनाबाटै फल्न सुरु गरेको स्ट्रबेरी खेतीबाट खर्च कटाएर महिनामा ३० हजार रुपियाँ आम्दानी गर्न सफल भएको जि सि को भनाइ छ । स्ट्रबेरीले कात्तिक चौथो सातादेखि वैशाख अन्तिमसम्म उत्पादन दिने जिसीले जानकारी दिनुभयो ।