‘लिजेन्ड’ फुटबलर विराज महर्जनको सम्मानजनक बिदाइ

  चैत १७, २०७७

काठमाडौँ, चैत १७ : हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भन्नुभयो । उहाँको बिदाइ खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रह्यो ।

३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गर्नुभयो । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदानमा प्रवेश गर्नुभएको थियो । विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिताउनुभयो । खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो । विराजले सन्न्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु भन्दै थप्नुभयो, “मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।”

विराजले नेपालका लागि ७३ खेल खेल्नुभएको छ । उहाँपछि नेपालका लागि सबभन्दा बढी खेल राजुकाजी शाक्यले ६८ खेल खेल्नुभएको छ । विराज नेपालका सर्वाधिक सफल फुटबल खेलाडी तथा कप्तानमध्ये एक पनि हुनुहुन्छ । सन् २०१६ मा नेपालले लगातार तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको थियो । त्यो पनि विदेशी भूमिमा जसको तुलना हुन सक्दैन । जुन गौरव नेपाली फुटबलमा पहिलो पटक सम्भव भएको हो । यी तीन उपाधि जित्दा विराज टिमका कप्तान हुनुहुन्थ्यो । उहाँले एक अन्तर्राष्ट्रिय गोल पनि गर्नुभएको छ । उहाँले १८ खेलमा नेपालको कप्तानी गर्नुभएको छ ।

तत्कालीन कप्तान सागर थापासहित पाँच जना म्याच फिक्सिङमा मुछिएपछि सन् २०१५ मा साफ च्याम्पियनसिपमा विराजलाई नेतृत्व दिइएको थियो । अर्को वर्ष नै विराजको नेतृत्वमा नेपाल बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप, भारतको गुवाहाटीमा दक्षिण एसियाली खेलकुदअन्तर्गत साग फुटबल र मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको थियो ।

सोलिडारिटी कप जितेर एसियाको सर्वोच्च फुटबल संस्था (एएफसी)ले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि नेपालले पहिलो पटक हात पारेको थियो । विराजले नेतृत्व गरेको यस तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितको ह्याट्रिकलाई नेपाली फुटबलको अनुपम र अद्वितीय सफलता मानिएको छ । विराज पनि आफ्नो नेतृत्वमा नेपाललाई उपाधिको ह्याट्रिक दिलाउनुलाई आफ्नो खेल जीवनको अविस्मरणीय उपलब्धि मान्नुहुन्छ ।

गत वर्ष योहान कालिनको प्रशिक्षकका रूपमा नेपाली टिममा प्रवेश भएपछि लगातार पहिलो रोजाइमा नपर्दा र टिमबाट भित्र, बाहिर भएपछि विराजले एन्फाले वातावरण बनाइदिए सन्न्यास लिने मनशाय व्यक्त गर्दै आउनुभएको थियो । पछिल्लो पटक उहाँ सन् २०१९ को जुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिममा हुनुहुन्थ्यो ।

सन् २००८ मा नेपाल र पाकिस्तानबीचको मैत्री खेलबाट राष्ट्रिय टोलीमा पदार्पण गरेका विराजले सन् २००९ मा एएफसी च्यालेन्ज कपमा किर्गिस्तानविरुद्ध गोल पनि गर्नुभएको थियो । एन्फा एकेडेमी दोस्रो ब्याचका उत्पादन विराज उमेर समूहमा उत्कृष्ट प्रदर्शनपछि राष्ट्रिय टिममा पुग्नुभएको हो ।

विराजले अझै पनि फुटबलमा धेरै सिक्न र दिन बाँकी छ भन्दै युवा खेलाडी र समर्थकलाई सन्देश पनि दिनुभयो । “म युवा खेलाडीलाई मेहनत गर्दै जानू, अवसर कमै मात्र प्राप्त हुन्छ, पाएको अवसरलाई भजाउनुपर्छ भन्न चाहन्छु । अनुशासन सबभन्दा महत्वपूर्ण कुरा हो । यसैगरी नेपाली फुटबल समर्थकलाई आफूलाई जति माया र समर्थन दिनुभएको छ, त्यत्ति नै युवा खेलाडीलाई दिन पनि अनुरोध गर्दछु”, विराजलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया