काठमाडौँ, चैत १४ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको पुँजी बजारमा महिला लगानीकर्ताको उपस्थिति उत्साहजन रहेको बताउनुभएको छ ।
यूएन वमनको आह्वानमा नेपाल स्टक एक्सचेन्जले आयोजना गरेको ‘रिङ दी बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रममा उहाँले कुल डिम्याट खाता खोल्नेमध्ये ४२ प्रतिशत र मेरो सेयर खातामा करिब ४५ प्रतिशत महिला रहेको जानकारी दिनुभयो ।
उहाँले दोस्रो बजारमा धिताको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको पनि बताउनुभयो । उहाँले बोर्डलगायत पुँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकीय तहमा महिला रहने क्रम बढ्दै गए पनि यसलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आईएफसीका अनुसार कोभिड–१९ ले पारेको आर्थिक र सामाजिक प्रभावका कारण विश्व श्रम बजारबाट ५४ प्रतिशत महिलाले रोजगार गुमाएका छन् । त्यस्तै विश्वमा अर्थतन्त्र, वातावरणीय, सामाजिक र प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि हुँदै गए पनि महिलाले बिजनेस लिडरसिपमा भने १७ प्रतिशतमा सीमित भएको छ ।
नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले श्रम क्षेत्रमा, अर्थतन्त्रमा र पुँजी बजारमा सहभागिता बढ्नु अर्थतन्त्रका सवल पक्ष भएको धारणा व्यक्त गर्नुभयो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले महिलामा वित्तीय साक्षरता अभिवृद्धिले लैङ्गिक समानतालाई प्रवद्र्धन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
युनाइटेड नेसन्स ग्लोबल कम्प्याक्ट नेटवर्क नेपालका अध्यक्ष प्रदीपमान वैद्यले विश्वव्यापी महामारीका कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विश्वले सङ्र्घष गरिरहेको अवस्थामा महिलाले यसलाई थप गति दिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
आईएपसीले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा कर्पोरेट बोर्डहरूमा महिलाको सहभागिता अत्यन्तै कम रहेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार २० कम्पनीका १३२ बोर्ड सदस्यमध्ये १२ जना मात्र महिला सदस्य रहेको उल्लेख छ । नेपालको कम्पनी ऐन २०६६ ले एक वा सोभन्दा बढी महिला सेयरधनी रहनुपर्ने भने पनि १० कम्पनीमध्ये तीन कम्पनीमा मात्र महिला बोर्ड सदस्य रहेका छन् ।
नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकार एस फायीले ऊर्जा क्षेत्रका १८ वटा कम्पनीलाई लैङ्गिक असमानता अन्त्यका लागि अभिप्रेरित गरिरहेको बताउनुभयो । उहाँले नेपालका कर्पोरेट सेक्टरका बोर्डमा महिलालाई पु¥याउका लागि धेरै नै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दक्षिण एसियामा गरिएको अध्ययनलाई उल्लेख गर्दै लैङ्गिक रूपमा विविधता भएका कम्पनीहरूको वित्तीय उपलब्धी राम्रो देखिएको बताउनुभयो ।