काठमाडौं, चैत ११ : नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको मिति परिवर्तन भएको छ । २०७७ चैत्त १५ देखि १८ गते सम्म आयोजना हुने भनिएको च्याम्पियनशिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताउनुभएको छ । च्याम्पियनशिप प्रतियोगिता २०७८ साल बैशाख ४ देखि ८ गते सम्म हुने भएको छ ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनशिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गल्र्स यु – १७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । -याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनशिपमा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, बिभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।
करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनशिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपियाँसहित तक्मा र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै युगल तर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु – १७ ब्वाईज तथा गल्र्सका शीर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
बिश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाईने च्याम्पियनशिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ बरियता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै यु १७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् । कोटामा परेका प्रत्येक खेलाडी, प्रशिक्षक र ब्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकले खान बस्ने ब्यवस्था आफु स्वयंले गर्नु पर्नेछ ।