काठमाडौँ, चैत ५ : नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । नेपालमा श्रम इजाजत स्वीकृति लिएर वा श्रम इजाजत नवीकरण गरेर काम गर्नेमा लगभग ७७ प्रतिशत चिनियाँ नागरिक छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो आठ महिनामा ५७८ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ८५७ जनाले नवीकरण गरेका छन् । जसमध्ये झन्डै ७७ प्रतिशत चिनियाँ रहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक सनत केसीका अनुसार चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा ठूलो सङ्ख्यामा चिनियाँ नागरिक कार्यरत छन् । त्यस्तै टेलिकम्युनिकेसन, हवाई सेवालगायत सेवा क्षेत्रमा इजाजत लिने विदेशी श्रमिकको सङ्ख्या ठूलो छ ।
नेपालमा श्रम स्वीकृति काम गर्नेमा चिनियाँपछि भारतीय रहेको विभागले जनाएको छ । नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या निकै धेरै भए पनि सबै भारतीय श्रमिकले श्रम इजाजत लिने गरेका छैनन् । ठूला परियोजनामा मात्र प्राविधिकका रूपमा काम गर्नेले श्रम स्वीकृति लिएर काम गर्ने गरेको महानिर्देशक केसीले जानकारी दिनुभयो ।
विभागका अनुसार श्रम इजाजत लिनेमा नेपाललाई आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएका मुलुकका नागरिकको सङ्ख्या मात्रै उल्लेख छ । केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले श्रम इजाजत लिएका विभागले जनाएको छ ।
श्रम विभागले आर्थिक वर्ष २०६९÷७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९÷७० देखि चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म नयाँ श्रम इजाजत र नवीकरण गर्ने १४ हजार ६८४ जना रहेका छन् ।
अस्ट्रेलिया, बङ्गलादेश, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिकालगायत ८७ मुलुकका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको विभागको तथ्याङ्कले देखाउँछ ।