अन्नपूर्ण पदमार्गमा आउन थाले पर्यटक

  फागुन २९, २०७७

लमजुङ, फागुन २९ : लमजुङको बेँसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहपहल सुरु भएको छ । कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमणका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा विस्तारै पर्यटक आउन थालेका छन् ।

गत चैतदेखि सुनसान बनेको पदमार्गमा चहलपहल सुरु भएको होटल व्यवसायीले बताए । यससँगै लामो समय पर्यटक नआउँदा निराश बनेका पर्यटन व्यवसायीमा केही आशा पलाएको छ । मस्र्याङ्दी सञ्चालक पञ्चबहादुर गुरुङका अनुसार अन्नपूर्ण पदमार्गमा पर्यटक देखिन थालेका छन् । स्वदेशी तथा विदेशी पर्यटक आउन थालेपछि व्यवसायमा केही रूपमा सहज भएको उहाँले बताउनुभयो ।

“केही समययता पर्यटक आउन थालेका छन् । विदेशी पर्यटक दैनिक दुई÷तीन जनाको दरले आउँछन् । आन्तरिक पर्यटक ४० जनासम्म आएका छन्” उहाँले भन्नुभयो, “फागुनबाट विस्तारै पर्यटक आएका छन् । पर्यटक आउन थालेपछि हामी व्यवसायीमा आशा पलाएको छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत मनाङको तल्लो क्षेत्र धारापानीस्थित पर्यटक चेकपोस्ट तथा वन पैदावार चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार पदमार्गमा पर्यटकको चहलपहल हुन थालेको छ । दैनिक एकदेखि चार जनासम्म विदेशी पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

गत वर्ष जनवरीमा २५५, फेब्रअरीमा ५१२ र मार्च २३ सम्म एक हजार १८२ पर्यटक भित्रिएका छन् ।  मार्च १४ देखि पर्यटक आगमन थिएन । बन्दाबन्दी पहिलो पटक नोभेम्बर ४ मा विदेशी पर्यटक आएका थिए । पछिल्लो समय जोर्डन, इटली, यूएई, बेलायतबाट पर्यटक आएको पर्यटन सहायक गुरुङले बताउनुभयो । गत कात्तिक १० गतेबाट चेकपोस्ट खुलाइएको थियो ।

विदेशी पर्यटक थोराङ्ला (५,४१६ मिटर उचाइ) पास जाने गरेका छन् । आन्तरिक पर्यटक संसारकै अग्लोमध्ये मानिएको तिलिचो ताल (४,९१९ मिटर), गङ्गापूर्ण ताल (३,५४० मिटर) घुम्न जाने गरेका छन् । मार्च १५ बाट पर्यटकीय सिजन सुरु हुने भएकाले विस्तारै पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया