काठमाडौँ, फागुन २८ : नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याइएको छ । नेपाल–चीनको नाका तातोपानी हुँदै चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइसकेको छ । चीनको सिगात्सेमा सङ्कलन गरी राखिएको मल आइतबारदेखि नेपाल आउन लागेको तातोपानी क्वारेन्टाइन अधिकृत बुद्ध चन्द्रले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क मार्केटसँग ढुवानीको सम्झौता गरी नेपाल ल्याउन लागेको हो । चीनबाट साल्ट ट्रेडिङ कर्पोरेसनले चार हजार मेट्रिक टन मल ल्याउँदै छ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक पङ्कज जोशीले शुक्रबारसम्म दुई हजार मेट्रिक टन मल नेपाल आइपुग्ने बताउनुभयो ।
चीनबाट पहिला पनि मल आउँथ्यो तर त्यो भारतको बाटो भएर आउने गथ्र्यो त्यसले निकै समय लिन्थ्यो अब सीधै नेपालको नाकाबाट आउने भएकाले समयको बचत हुने साल्ट ट्रेडिङका बृजेश झाले बताउनुभयो । त्यहाँबाट आउने युरिया मलमध्ये १२ सय मेट्रिक टन काभ्रेको बनेपा, आठ सय मेट्रिक टन नुवाकोट र अरू बाँकी काठमाडौँ गोदाममा राखिने उहाँले जानकारी दिनुभयो ।
चीनबाट प्रतिमेट्रिक टन ३८९.९० अमेरिकी डलमा सो चार हजार मेट्रिक टन मल खरिद गरिएको हो ।
तातोपानीबाट मल ल्याउँदा सहज भयो भने त्यसलाई निरन्तरता दिने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । तातोपानी नाकाबाट पहिलो पटक यसरी मल ल्याइँदै छ । यो परीक्षण नै हो यदि यो सफल भयो भने त्यो नाका हुँदै नियमित मल ल्याउने सोच सरकारको रहेको उहाँले बताउनुभयो ।
नेपालमा बर्सेनि हुने मलको हाहाकारलाई रोक्नका लागि सरकारले चौतर्फी प्रयास गरेको हो । भारत, बङ्गलादेश र चीनबाट रासायनिक मल भित्रिदै छ । जेठदेखि भदौसम्म मलको अत्यधिक माग हुने देखिएको हुनाले त्यसबेला अभाव नहोस् भनेर सरकारले पर्याप्त रूपमा मलको भण्डारण गर्न लागेको हो ।
नेपालमा रासायनिक मल पर्याप्त मात्रामा भित्रिइसकेको छ । मल राख्ने ठाउँ नभएर गोदाम खोज्ने काम भइरहेको छ । कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीले बताउनुभयो । विराटनगर, सिन्धुली, वीरगञ्ज, चितवन, भैरहवा, काठमाडौँलगायतका विभिन्न २२ ठाउँमा गोदामको आवश्यकता देखिएको छ ।
ती ठाउँमा गोदाम खोज्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । ७० हजार मेट्रिक टन मल राख्ने क्षमता भएको गोदाम नेपाल सरकारसँग रहेको छ भने ३० हजार मेट्रिक टनका लागि भाडामा गोदाम लिएको छ । २० हजार मेट्रिक टन मल राख्ने गोदाम तयार भइरहेको छ । त्यो गोदाम दुई महिनाभित्र तयार हुने बताउँदै उहाँले त्यसले पनि पुग्ने नदेखेपछि अरू गोदाम भाडामा लिने भनि खोजी भइरहेको उहाँले बताउनुभयो ।
बङ्गलादेशबाट जीटुजी सम्झौतामार्फत २२ हजार पाँच सय मेट्रिक टन मल आइसकेको छ । भारतसँग पनि जीटुजी सम्झौता गर्ने प्रक्रियामा छ । चालू आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य सरकारले लिएको छ । कृषि मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन मल भण्डार गरी राखिएको छ ।
गत आर्थिक वर्ष तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो । यस प्रकारले गत सालको बिक्री बराबरको मल आयात भइसकेको छ भने थप दुई लाख सात हजार मेट्रिक टन मल आयात हुने अवस्थामा रहेको मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।