बलेवा, फागुन २७ : कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन गत भदौ १७ को बाढीपहिराका कारण थप प्रभावित भयो । शिकारको सिजनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगङ्गाको सुन्दरता खोज्ने पनि चैत–वैशाख जस्तो सिजनमा ढोरपाटन पुगेनन् ।
वर्षा सकिएपछि ढोरपाटनमा असोज कात्तिकमा औषतभन्दा धेरै पर्यटक पुग्थे । भदौमा भूजीखोलामा आएको बाढीले झण्डै १५ किलोमिटर सडक बगाएपछि त्यसको प्रभाव पर्यटनमा प¥यो । ढोरपाटनमा शिकारका लागि कात्तिक र चैत सिजनका रुपमा लिइन्छ भने अन्य पर्यटक पनि यो समयमा बढी नै ढोरपाटन पुग्छन् ।
कोभिड–१९ को प्रभाव कम र बाढीले बगाएको सडक पुनःनिर्माण भएसँगै ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालको एकमात्र शिकार आरक्षमा कोभिड–१९ र खराब सडकका कारण कम भएको पर्यटक अहिले भने ह्वात्तै बढेको हो । “कोभिडसँगै ढोरपाटन सालझण्डी मोटरबाटोको समस्याले पर्यटक आएका थिएनन्, हिउँदमा सजिलो भएर बढेका छन्”, ढोरपाटन नगरपालिका– ९ का अध्यक्ष हरिबहादुर घर्तीले भन्नुभयो, “बोबाङमा सडक स्तरोन्नति गर्न सकियो भने पर्यटक नियमित गर्न सकिन्छ ।”
ढोरपाटन शिकार आरक्ष प्रवेश गर्दा साथ देखिने पाटनको मनमोहक दृष्यले धेरै पर्यटकको मन तान्ने गरेको उहाँले बताउनुभयो । ढोरपाटन शिकार आरक्ष प्रवेशसँगै देउरालीको चिसो हावा, फागुने लेक, लेडेको धुरी, गर्पा लेक साथै मनोरम पाटनको दृष्य फोटोमा कैद गर्दै पर्यटकले थकाइ मार्ने गर्दछन् । विभिन्न रंगका गुरास फूल्न थालेकाले पर्यटक लोभिने गर्छन् ।
ढोरपाटनमा विभिन्न विद्यालय, आमासमूह र युवाको समूह मिलेर घुम्न आउने गरेका छन् । ढोरपाटन घुम्न आउनेले उत्तरगङ्गा, ढोरबराह मन्दिर, फागुने लेक, गार्पा लेक, जलजलाजस्ता धेरै स्थानमा घुम्न जाने गरेको शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
ढोरपाटनबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृष्यावलोकनसमेत देखिन्छ । पर्यटकको गतिविधि बढाउन सडकको स्थायित्व, होटल बढाउनुपर्ने स्थानीय शिक्षक चकबहादुर अदैले बताउनुभयो । स्थानीयले खोलेका घरवासले पनि आन्तरिक पर्यटकलाई सहज बनाएको उहाँले बताउनुभयो ।
मध्यपहाडीको यात्रापछि बुर्तिवाङदेखि ३० किमीमा ढोरपाटन पुगिन्छ । ढोरपाटन शिकार आरक्षमा प्रवेश गर्दा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ को कानूनी व्यवस्थाअनुसार नेपाली नागरिकले एक सय, सार्क मुलुकका नागरिकले एक हजार ५०० र अन्य विदेशी नागरिकले रु तीन हजार शुल्क तिर्नुपर्ने प्रावधान रहेको कँडेलले जानकारी दिनुभयो ।