त्रिभुवन आर्मीमाथि बागमतीको शान्त्वना जित

  फागुन २७, २०७७

काठमाडौं, फागुन २७ : बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि दश रनको जित हात पारेको छ । मेयर कप क्रिकेट अन्तगर्त लिग चरणको अन्तिम खेलमा बागमतीले त्रिभुवन आर्मीमाथि शान्त्वना जित हात पारेको हो ।

आज नै सम्पन्न अर्को खेलमा एपीएफले काठमाडौं मेयर ११ लाई हराउँदा बागमती र त्रिभुवन आर्मी खेल सकिनु अघि नै प्रतियोगिताको फाइनलको होडबाट बाहिरिसकेको थियो । प्रधानमन्त्री कप क्रिकेटको विजेता त्रिभुवन आर्मीले मेयर कप क्रिकेटमा अपेक्षाकृत प्रदर्शन दिन सकेनन । उसले प्रतियोगिताको चारमध्ये मात्र एक खेलमा जित हात पार्न सफल भयो ।

बागमतीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याउँदै त्रिभुवन आर्मीले ४७.१ ओभरमा २५६ रनमा समेटिन पुग्यो । जितका लागि २४ बलमा मात्र १३ रन आवश्यक छँदा कप्तान विनोद भण्डारी एक रन चोर्ने प्रयासमा स्टम्प पछाडि आकाश थापाबाट आउट हुन पुग्नुभयो । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आउनुभएका जितेन्द्र मुखिया अरियो पौडेलको बलमा एलबीडब्ल्युको धरापमा पर्नुभयो ।

भण्डारीको उत्कृष्ट शतकीय पारीका बावजूद आर्मी जितभन्दा ११ रन टाढा २५६ रनमा समेटिन पुग्यो । उहाँले मात्र ११४ बलमा आठ चौका र सात छक्कासहित ११९ रनको शतकीय पारी खेल्नुभयो । १५२ रनमै सात विकेट गुमाएको आर्मीका लागि बिनोद भण्डारीले करण केसीसँग आठौं विकेटका लागि ८४ रनको साझेदारी गर्नुभयो । ओपनर लोकेश बलमे दोस्रो सर्वाधिक ४६ रनको योगदान दिनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गरेको बागमतीले पारस खडकाको शतकको सहयोगमा ५० ओभरमा २६६ रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो । ११ रनमै कप्तान ज्ञानेन्द्र मल्ल र आकाश थापालाई गुमाएर कमजोर सुरुवात गरेको बागमतीका लागि पारस खडकाले इशान पाण्डेसँग तेस्रो विकेटको रुपमा ७३ रनको साझेदारी गर्नुभयो । पाण्डे मात्र २६ रन बनाएर पेभेलियन फर्केपछि धरमराएको बागमतीको पारीलाई पारसले आदिल खानसँग ७७ रनको साझेदारी गरेर १७५ रनसम्म पुर्याउनुभयो ।

आदिल २१ रन बनाएर पेभेलियन फर्किए लगत्तै पारसले शतक पुरा गर्दै ११९ रनको पारी खेलेर टोलिको योगफल २०८ रनसम्म पुर्याउनुभयो । बिपीन आचार्य नौ रनमै पेभेलियन फर्किदा आठौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका नन्दन यादबले विष्फोटक पारी खेल्दै टोलिको योगफल २६६ रनसम्म पुर्याउनुभयो । उहाँले मात्र २५ बलको सामना गर्दै पाँच चौका र एक छक्का लगाएर अविजित ४२ रन बनाउनुभयो । नन्दनले एपीएफ विरुद्धको खेलमा समेत अद्र्धशतकीय पारी खेल्नुभएको थियो ।

आर्मीका लागि सोमपाल कामीले दश ओभरमा ६५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिनुभयो । बिक्रम सोबले दश ओभरमा ३८ रन खर्चेर एक विकेट लिनुभयो । जितेन्द्र मुखियाले आठ ओभरमा दुई मैडन राख्दै ४९ रन खर्चेर एक विकेट तथा साहब आलम र करण केसीले एक एक विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया