हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

  फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर रु ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । उहाँका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं –धनगढीका लागि रु ९० बढेको छ । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम रु १० वृद्धि गरिएको छ भने काठमाडौंबाट हुने पर्वतीय उडानमा रु ७० बढेको छ ।

तपाईको प्रतिक्रिया