दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको विवाद आइसीसी समक्ष पुग्यो

  फागुन ०५, २०७७

काठमाडौं, फाल्गुन ५ : दक्षिण अफ्रिकाले क्रिकेट अष्ट्रेलियाको निर्णयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष औपचारिक रुपमा लिख्ति गुनासो गरेको छ । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेपछि अफ्रिकाले गुनासो दत्र्ता गराएको हो ।

अष्ट्रेलियाले विश्व टेष्ट च्याम्पियनशीप अन्तगर्त दक्षिण अफ्रिकामा तीन म्याचको टेष्ट श्रृखंला खेल्ने तय भएको थियो । भ्रमण स्थगित गर्ने निर्णयमा पुग्दा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा पुग्न भारत र इंग्ल्याण्डबीचको टेष्ट श्रृखंलामा निर्भर हुनुपरेको छ ।

दक्षिण अफ्रिकाले क्रिकेट अष्ट्रेलियाको उक्त निर्णय आइसीसीको विवाद निरुपण परिषद्मा छलफल हुनुपर्ने माँग गरेको छ । क्रिकेट दक्षिण अफ्रिकाका कार्यवाहक कार्यकारी प्रमुख फोलेत्सी मोसेकीले पठाउनुभएको पत्रमा क्रिकेट अष्ट्रेलियाबाट दक्षिण अफ्रिका भ्रमण स्थगित गर्दा क्षतिपूर्तिको माँग समेत गरिएको छ ।

क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकामा कोभिड १९ को बढ्दो सङ्क्रमणका बीच भ्रमण गर्दा खेलाडीको स्वास्थ्यलाई लिएर समस्या उत्पन्न हुने भन्दै भ्रमण अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

यसअघि भारतले सन् २००८ मा पाकिस्तान भ्रमण रद्द गर्दा र अष्ट्रेलियाले सन् २००७ मा जिम्बाबवे भ्रमण स्थगित गर्दा उक्त विवाद आइसीसी परिषद्मा पुगेको थियो । अष्ट्रेलियाले जिम्बाबवेमा बढ्दो राजनीतिक द्वन्दका बीच भ्रमण गर्न नहुने भन्दै स्थगित गरेको थियो । दुबै बोर्डको निर्णयलाई आइसीसीले तर्कपूर्ण स्वीकार गरेको थियो ।

क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमण स्थगित गर्न स्वास्थ्य सुझाबको आधारमा गरेको जनाएको छ । दक्षिण अफ्रिकाले भ्रमण क्रिकेट अष्ट्रेलियालाई भ्रमण नगर्न सुझाब दिएको स्वास्थ्य अधिकारीहरुले स्थलगत् अवलोकन गर्नुपर्ने आइसीसी समक्ष आग्रह गरेको छ ।

आइसीसीको एफटीपी निर्देशिकाले सरकारले निर्देशन दिएको अवस्थामा वा विशेष परिस्थिति उत्पन्न भएमा बोर्डले भ्रमण स्थगित गर्न पाउने ब्यवस्था गरेको छ । उक्त निर्देशिका सन् २००४ देखि लागू भएको छ ।

दक्षिण अफ्रिकामा हाल तेस्रो तहको लकडाउन जारी रहेको छ । बढी जोखिम भएको अवस्थामा पाँचौं तहको लकडाउनसम्म लगाउने निर्देशिका बनाइएको छ । फेब्रुअरी १ मा लकडाउन सहज गर्ने निर्णय गरेको अघिल्लो दिन जनवरी ३० देखि अष्ट्रेलियाले दक्षिण अफ्रिकाको भ्रमण गर्ने तय भएको थियो । दक्षिण अफ्रिकामा सङ्क्रमण दर समेत घट्दो अवस्थामा छ । यद्दपी दैनिक सङ्क्रमित हुनेको संख्या एक हजारभन्दा बढी छन् ।

तपाईको प्रतिक्रिया