कास्की, माघ २९ : पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौं विजयी भएका छन् ।
यसैगरी पुरुषतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ न्यू डाइमण्डले नेपाल पुलिसलाई ३–१ सेटमा जीत हात पार्न सफल भयो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू डाइमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६ मा जित निकालेको हो । यसैगरी एपिएफले आर्मीमाथि ३–२ को सेटमा विजयी हुन सफल भयो । एपिएफले २७–२५, १८–२५, २५–१७, २०–२५ र १५–७ अंकको विजय हासिल गरेको आयोजक संस्थाका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।
पुरुषतर्फ दुई विभागीय टोलीको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सोझो सेटमा एपिएफलाई पराजित गर्न सफल भयो । आर्र्मीले २५–२३,२५–२१ र २५–१८ को अंकले जीत निकालेको हो ।
आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेतालाई रु दुई लाख पुरस्कार
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी अन्तिम चरणमा पुगेको छ ।
मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आगामी फागुन १ गते शनिबार पोखरा रंगशालाबाट शुरु हुने म्याराथन(४२.१९५) किमीमा १५६ जना धावकले नाम दर्ता गराएको जनाएको छ ।
यसैगरी यस वर्षबाट महिलाका लागि २१ किमी ‘हाफ म्याराथन’ समेत थपिएकामा महिलातर्र्फ १९ धावकले अहिलेसम्म नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । पूर्वमेचीदेखी पश्चिम महाकालीसम्मका धावकले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।
सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमानचित्रमा स्थापित गराई खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चुनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।
म्याराथनको विजेताले रु दुई लाख र द्वितीयले रु एक लाख तथा तृतीयले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलाको हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार र रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरूको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
विगतमा वर्र्षमा पोखरासँग भगिनी सम्बन्ध भएका जापान, चीनलगायतका विदेशी धावकले पोखरा म्याराथनमा सहभागिता जनाउने गरे पनि यस वर्ष कोरोनाका कारण विदेशी धावकको उपस्थिति नरहने मञ्चका सचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार विदेशी धावक सहभागी नभए पनि नेपालस्थित केही विदेशी कूटनीतिक नियोगका केही प्रतिनिधि कार्यक्रममा सहभागी बन्नुहुनेछ । यसैगरी गत संस्करणमा ‘रन फर फन’ अन्तर्र्गत हजारौँ पोखरेली दौडमा निस्कने गरेकामा यस वर्ष सो कार्यक्रम नराखिएको आयोजकले जनाएको छ ।
म्याराथनप्रति पोखरेलीले सकारात्मक सहयोग गर्दै आएकामा प्रदेश सरकार र पोखरा महानगरपालिकाले बजेट कार्यक्रममा म्याराथनलाई राखेकाले यसप्रति सबैको अपनत्व कायम भएको बताइन्छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरकफरक मितिमा आयोजना गर्ने तयारी मञ्चको छ । ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।
यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्रछात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्रछात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।